संवैधानिक परिषदको बैठक फेरि पनि स्थगित

काठमाडौं २६ मंसिर । प्रधानन्यायाधीश सिफारिस गर्न मंगलबार साँझ बोलाईएको संवैधानिक परिषदको बैठक फेरी पनि स्थगित गरिएको छ ।

मंसिर २२ गते शनिबार परेको भन्दै मंगलबारलाई बैठक बोलाएको भएपनि अन्तिम समयमा स्थगित गरिएको हो ।

यसअघि मंसिर १७ गतेको बैठक निष्कर्षहिन भएपछि मंसिर २२ गते बोलाइएको थियो ।

प्रधानन्यायाधीशको विषयलाई लिएर प्रधानमन्त्री ओली र विपक्षी दलका नेता देउवाबीच छलफल हुन बाँकी रहेकोे भन्दै मंगलबारको बैठक स्थगित गरिएको बताइएको छ ।

प्रधान न्यायाधीश पद खाली नहुदै एक महिनाअघि नयाँ नाम सिफारिस गर्नुपर्ने प्रावधान छ । वहालवाला प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको यही आउँदो पुस १७ गते म्याद सकिदैछ ।

अब संवैधानिक परिषद्को अर्को बैठक पुस ५ गते बस्ने भएको छ । अहिलेसम्म चोलेन्द्रशमसेर जबरा र दीपकराज जोशीको नाम नयाँ प्रधानन्यायाधीशका लागि न्याय परिषदमा सिफारिस भएको छ ।

यद्यपी जोशी संसदीय सुनुवाई समितिबाट स्वीकृत नभएकाले चोलेन्द्र प्रधानन्यायधाधीश बन्ने सम्भावना वढेको छ ।