जिल्ला समन्वय समिति महासंघले राष्ट्रिय स्तरको जलवायु सम्मेलन गर्ने

मंसिर १२ काठमाडौं । जिल्ला समन्वय समिति महासंघले राष्ट्रिय स्तरको जलवायु सम्मेलन गर्ने भएको छ ।
पछिल्लो समयमा जलवायु परिवर्तनका समस्या र असरहरु नेपालमा पनि देखिदै गएपछि यसको समाधान खोज्न राष्ट्रिय स्तरीय जलवायु सम्मेलन गर्न लागिएको हो ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले मुख्य व्यवस्थापनमा गर्ने यस सम्मेलनमा ७६ वटै जिल्ला समन्वय समितिका सभापतिहरु र वातावरण विज्ञ सहभागी हुने भएका छन् । सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुनेछ । सम्मेलनमा जलवायु परिवर्तनका समस्या र असरहरु रोक्ने विषयमा सामूहिक प्रतिबद्धता जनाउँदै सम्मेलनले सिन्धुपाल्चोक घोषणापत्र जारी गर्ने छ ।

राष्ट्रिय सम्मेलन कार्यक्रम सिन्धुपाल्चोकका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित ज्यामिरेको २ हजार ५ सय २० मिटर उचाइमा रहेको गुफाडाँडामा गरिने भएको छ । गुफा डाँडाबाट जुगल हिमशृंखला, छिमेकी जिल्लाका हिमालका साथै पर्यटकीय क्षेत्र नगरकोटसम्मका मनोरम दृश्य देख्न सकिन्छ ।
सम्मेलन दुई दिनको हुनेछ । समेल्लनमा वातावरण विद लगायत विज्ञले कार्यपत्र प्रस्तुत गर्ने छन् ।

जिल्ला समन्वय समिति महासंघले सम्मेलनका सहभागीहरुलाई मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग र हेलम्बु क्षेत्रको पर्यटकीय वातावरणको समेत अवलोकन गराउने कार्यक्रम छ ।  सम्मेलनको पहिलो दिन सहभागीका सवारी साधनमा अघिपछि जलवायु परिवर्तन सम्वन्धी सन्देश वोकेर हेलम्बु क्षेत्र पुयाएर त्यहाँको पर्यटकीय वातावरण अवलोकन गराउने योजना वनेको छ ।

सम्मेलन व्यवस्थापन मूल समारोह समिति गठनका लागि सम्बन्धित निकाय र कार्यालयमा चिठी पठाइसकिएको जिल्ला समन्वय समितिका अधिकारी हरिकृष्ण ज्ञवालीले वताउनुभयो ।

‘ करिब एक करोड बराबरको खर्च अनुमान गरिएको छ, यसलाई भव्य सभ्य र सफल बनाउछौं’, जिल्ला समन्वय समिति सभापति तामाङले भन्नुभयोे,
सम्मेलनलाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली हेलिकप्टर चढेर सम्मेलनस्थल पुग्नुहुनेछ ।