राजधानीमा गाईजात्रा, केहि तस्विर…………………

प्रकृती दाहाल


भाद्र ११, काठमाडौ—झम्सीखेलका अर्जुुन थापा मगर सोमबार बसन्तपुरमा गाइजात्रा मनाउदै थिए । एक महिना अघि निधन भएकी भाउजुको सम्झनामा भाउजुकै भेषमा मृतककै छोरालाई सजाएका थिए । उनका छोरा जामा, चोलो, रातो पोतेमा चिटिक्क देखिएका थिए । मगर समुुदायमा जन्मेका अर्जुन नेवारी समुुदायमा हुुर्किए । नेवारी संस्कार संस्कृति अपनाउदै आए । ‘नेवार समुदायको वरिपरि हुर्किए, त्यसैले नेवारी संस्कार मनाउदै आइरहेको छु ।’ उनले भने ।

बन्दीपुरकी अलिशा श्रेष्ठ पनि वसन्तपुुरमै भेटिइन । उनि एक महिना अघि निधन भएकी हजुुर आमाको सम्झनामा गाइजात्रा मनाउदै थिइन । काठमाडौमा गाईजात्रा मनाएको यो पहिलो अवसर भएको उनले वताइन । बन्दीपुर आफ्नो गाँउमा गाइजात्रा मनाएको क्षण सम्झिदै उनले भनीन् ‘गाँउघरमा अलि रमाइलो हुन्छ,आफन्तहरुको जमघट निकै हुन्छ, तर यहा भने एक्लै जात्रा मनाए जस्तो भइरहेको छ ।’  

सोमबार देशभरै नेवार समुुदायमा गाईजात्रा मनाइदै छ । एक बर्ष भित्र दिवंगत आफन्तका सम्झनामा गाई वा मानिसलाई सिंगारी नगर परिक्रमा गर्दै अन्न, पैसा दान गर्ने चलन रहेको छ । वर्षदिन भित्र दिवंगत आफन्तका सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना क्षेत्रमा परिक्रमा गराउदा मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।