महेन्द्रनगरमा गोली चल्यो, चार आन्दोलनकारी घाइते


काठमाडौ,७ भदौ —कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणले उग्र रूप लिएको छ । बिहीबार दिउँसो प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागेर चार प्रदर्शनकारी घाइते भएका छन् ।
कैलाली गाउँपालिका–३ का २४ वर्षीय सन्तोषकुमार कठरिया, भीमदत्त नगरपालिका–२ भाँसीका ३६ वर्षीय तेजराज भट्ट, भीमदत्त नगरपालिका–४ महेन्द्रनगरका १९ वर्षीय अर्जुन भण्डारा र कञ्चनपुरकै किरनप्रसाद पाण्डेय घाइते भएका छन् । उनीहरुको अहिले महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । कठरिया, भण्डारा र पाण्डेको खुट्टामा गोलीको छर्रा लागेको छ भने भट्टको टाउको र खुट्टामा गोलीका छर्रा लागेको छ ।