प्रधानमन्त्री भन्छन् : अधिनायकवादको हल्लामा खिया लागिसक्यो

१७ साउन काठमाडौ – कांग्रेसले सरकारमाथि लगाएको अधिनायकवादको आरोपमा खिया लागिसकेको भन्दै प्रधानमन्त्री ओलीले व्यङग्य गरे ।
कम्युनिस्ट एकता प्रकृया अगाडि बढेसंगै आत्तिएको शक्तिले सरकारलाई ठीक ढङ्गले काम गर्न नदिन अधिनायकवादको हौवा पिटिरहेको उनको भनाइ छ । ‘कम्युनिस्ट एकता भवितव्यमा भएको होइन’ उनले भने, ‘नेकपाभित्र आन्तरिक रूपमा केही भैहाल्ला भन्ने कसै कसैले नसोचे हुन्छ ।’

एकता प्रक्रियालाई लिएर केही नेताहरुमा असन्तुष्टि रहेको तर, त्यसैमा हौसिएर, बहकिएर कोही कतै नजाने ओलीको दाबी छ ।

असन्तुष्टिका स्वरहरुलाई बढाइचढाइ गरेर प्रमुख प्रतिपक्षी लगायतका शक्तिले खेल्न खोजेको उनको बुझाइ छ ।

कांग्रेसले गरेको सडक आन्दोलनप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले यो आन्तरिक कलह छेल्ने मेलो मात्र भएको बताए ।
कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतापछि पनि बुर्जुवाहरुको चलखेल नरोकिएको बताए ।

नेता नारायणकाजी श्रेष्ठले एकीकृत कम्युनिस्ट पार्टीभित्र समेत भ्रष्टीकरण, गुटबन्दी जस्ता समस्या कायमै रहेको बताए । ‘पार्टीमा गुटबन्दी छैन, भ्रष्टीकरण छैन भन्न मिल्दैन’ नेता श्रेष्ठले भने, ‘पार्टी विधिले पार्टी चल्नुपर्‍यो, हरेक नेता कार्यकर्तालाई उचित जिम्मेवारी दिनुपर्‍यो ।’

उनले वर्तमान सरकारलाई सफल बनाउन सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा समेत जोड दिएका छन् ।