सरकारले बनाइदिएको घर बाढीपीडितद्वारा धमाधम बिक्री

असार ५,रौतहट – बाढीपीडितको पुनर्वासको निम्ति सरकारले रौतहटमा बनाइदिएको घर बाढीपीडितले नै धमाधम बिक्री गर्न थालेका छन् ।

जीविकोपार्जनमा समस्या भएपछि उनीहरुले घर बिक्री गर्न थालेको गोरखापत्र दैनिकमा खबर छ ।

०५० सालमा आएको बागमती नदीको बाढीले विस्थापित रौतहटको साविक गढौ र पौराई गाउँ विकास समितिका करिब ५ सय घरपरिवारलाई लक्षित गरी सरकारले पौराई गाउँ विकास समितिको मंगलपुर र सन्तपुर गाउँ विकास समितिको नयाँ बस्तीमा निर्माण गरेको पक्की घर पीडितले नै बिक्री गरी साविककै स्थानलगायत अन्यत्र सर्ने गरेका छन् ।

बाढीले गढौ र पौराई गाविसका बासिन्दा घरवारविहीन भएपछि सरकारको अनुरोधमा चीनको चुची फाउण्डेसनले मंगलपुरका करिब ३ सय र नयाँबस्तीमा दुई सय घर निर्माण गरी पुनर्वासको व्यवस्था मिलाएको थियो । तर उनीहरुले जीविकोपार्जन गर्न समस्या भएको भन्दै घर बेच्न थालेको नयाँ पत्रिका दैनिकको समाचारमा उल्लेख छ ।