विदेशी औषधिको प्रयोगशाला बन्दै नेपालीको शरीर, भवितव्य परे कसले व्यहोर्ने ?

जेठ २४, काठमाडौँ – नेपालीको शरीर विदेशी औषधिको प्रयोगशाला बन्दै गएको गम्भीर विषय उठाएको छ । विदेशी औषधि कम्पनीहरुले आफ्ना नयाँ उत्पादनले शरीरमा पार्ने असर, प्रभावलगायतको परीक्षण गरिरहे पनि सरोकारवाला निकाय भने संवेदनहीन देखिएका छन् ।

नयाँ पत्रिकाका अनुसार बर्सेनि हजारभन्दा बढी संघसंस्थाले नेपालीमाथि अनुसन्धान गर्दै आएकोमा केही औषधि, इन्जेक्सनस, भ्याक्सिन र मेडिकल डिभाइस परीक्षण पनि हुने गरेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई उद्धृत गर्दै नयाँ पत्रिकाले लेखेको छ– सन् २०१७ मा मात्र परिषद्बाट ५ सयभन्दा बढी संस्थाले नेपाली जनतामा अनुसन्धान गर्न अनुमति लिएका छन् । सन् २०१८ को अप्रिलसम्ममा चार महिनामा मात्रै परिषदबाट १ सय ७६ संस्थाले अनुसन्धानका लागि अनुमति लिइसकेका छन् । यसबाहेक मेडिकल कलेजलगायत ३० संस्थाले पनि स्वास्थ्य अनुसन्धानको अनुमति दिने गर्छन् ।

समाचार अनुसार औषधि, भ्याक्सिन परीक्षण गर्नुअघि बिरामी तथा सम्बन्धित व्यक्ति र तिनका परिवारका सदस्यलाई जानकरी गराउनुपर्ने भए पनि त्यसो गर्ने गरिएको छैन । ललितपुरका २० हजार बालबालिकामाथि टाइफाइडको भ्याक्सिन परीक्षण गरिएको छ भने ललितपुरको लेलेस्थित आनन्दवन अस्पतालमा कुष्ठरोगसम्बन्धी नयाँ औषधिको परीक्षण गरिएको छ ।