यस वर्ष ४०० बढि सगरमाथा शिखरमा, ३६ करोड राजश्व संकलन

काठमाडौ, १२ जेठ —यस बर्ष ४०० भन्दा बढीले सगरमाथा आरोहण सम्पन्न गरेका छन् । सगरमाथा आरोहणबाट ३६ करोड १४ लाख ९८ हजार ३२१ रूपैयाँ रोयल्टी संकलन भएको छ ।  वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएको थियो भने यही जेठ ११ गतेसम्म चलेको हो । अघिल्ला वर्ष भन्दा यस पटकको आरोहणमा मानवीय क्षति पनि कम भएको छ ।
यस वर्षको वसन्त ऋतुमा पर्यटन विभागले आरोहण अनुमति दिएका २८ हिमालबाट हालसम्म ४१ करोड २८ लाख ८४ हजार ६३८ रकम रोयल्टी संकलन गरेको छ ।
त्यसमध्ये सबैभन्दा धेरै रोयल्टी रकम सगरमाथाले संकलन गरेको हो । यो तथ्यांकमा केही बढ्न सक्ने पर्यटन विभागको भनाइ छ । विभागका निर्देशक रामप्रसाद सापकोटाका अनुसार सगरमाथाबाट र ३६ करोड १४ लाख ९८ हजार ३१२ रोयल्टी संकलन भएको छ । सगरमाथासँगै रहेको ल्होत्से हिमालबाट एक करोड ९८ लाख ९३ हजार ६० रोयल्टी संकलन भएको छ ।
यसैगरी कञ्चनजङ्घाबाट रु ८२ लाख २६ हजार ७२०, धौलागिरीबाट रु ६३ लाख ६३ हजार ९०, आमाडब्लामबाट रु २० लाख ४७ हजार ८७७ र मनास्लुबाट रु १४ लाख ९३ हजार २८० रकम संकलन भएको छ । रासस