मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला, चालक दलका दुवै सदस्यको मृत्यु

जेठ २,काठमाडौं – मकालु एयरको वेपत्ता कार्गो विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भने, ‘घटनास्थलमा अर्को हेलिकोप्टर पुगेको छ, दुवै जनाको मृत्यु भएको खबर छ । थप विवरण आउन बाँकी छ ।’

नाइन एन एयूजे कलसाइनको सो विमानमा पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपाली सवार थिए । सुर्खेतबाट बुधबार बिहान हुम्लाको सिमिकोटका लागि विमान उडेको थियो । विमान बीच बाटोबाटै सम्पर्क विच्छेद भएको थियो ।

विहान ९ वजे तिर सो विमान बाजुराको बगरमा फोर्स ल्याण्डिङ भएको सूचना त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले संचार माध्यमलाई दिएका थिए । उक्त गलत सूचनाले हाम्रा पाठकवर्गमा पर्न गएको भ्रम प्रति हामी क्षमाप्रार्थी छौं ।