मोदीको भ्रमणका क्रममा शुक्रबार र शनिबार राजधानीको सवारी व्यवस्थापन यस्तो छ

बैशाख २८, काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि शुक्रबार (आज) नेपाल आउँदै छन् । मोदीको भ्रमणका क्रममा शुक्रबार र शनिबार राजधानीका केही क्षेत्रको यातायात प्रभावित हुनेछ । मोदीलाई दिनु पर्ने सुरक्षाको सम्पूर्ण तयारी भइसकेको छ । आवश्यकता अनुसार सवारी बन्द गरेर मोदीको सवारीलाई सुरक्षित बनाउने तयारी सुरक्षा निकायले गरेका छन् ।

जनकपुरको कार्यक्रम सकेर शुक्रबार दिउँसो १ बजेपछि मोदी काठमाडौं आइपुग्ने छन् । काठमाडौं झरेपछि मोदी सिधै ह्यात होटल जानेछन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ह्यात होटल जाँदा तीनकुने, गौशाला, चावहिल र बौद्धको सवारी आगमन प्रभावित हुनेछ ।

दिउँसो ४ बजे मोदीलाई गार्ड अफ अनर प्रदान गर्ने कार्यक्रम रहेको छ । बौद्धस्थित ह्यात होटलबाट मोदी चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर माइतीघर, भद्रकाली हुँदै सैनिक मञ्च टुँडिखेल पुग्नेछन् । यो अवधिमा सुरक्षाको अवस्था हेरेर सडक खाली गर्ने तयारी भएको छ । चार बजे मोदी टुँडिखेल पुग्नु भन्दा एक घण्टा अघि देखि नै यो सडक खाली हुनेछ । यो अवधिमा राजधानीको ट्राफिक केही घण्टा अस्तव्यस्त हुनेछ ।

टुँडिखेलमा गार्ड अफ अनर प्रदानपछि मोदी उपराष्ट्रपतिसँगको भेटका लागि बहादुर भवन पुग्नेछन् । उक्त समयमा जमल, दरबारमार्ग क्षेत्रको यातायात प्रभावित हुनेछ । उपराष्ट्रपतिसँगको भेट लगत्तै मोदी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नेछन् । बहादुरभवनबाट मोदी शीतल निवास पुग्दा लैनचौर, पानीपोखरी, महाराजगञ्ज क्षेत्रको सडक प्रभावित हुनेछ ।

राष्ट्रपतिसँगको भेटपछि मोदी फेरि बत्तीसपुतलीको द्वारिकाज होटलमा पुग्नेछन् । शीतल निवासबाट महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशला हुँदै द्ववारिकाज होटल पुग्ने छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै अन्य नेताहरुसँग मोदीले द्ववारिकाज होटलमै भेट गर्ने कार्यतालिका रहेको छ ।

शनिबारको मोदी कार्यतालिका

भारतीय प्रधानमन्त्री मोदी भ्रमणको दोस्रो दिन शनिबार काठमाडौंबाट मुक्तिनाथ दर्शन गर्न जाने कार्यक्रम रहेको छ । मोदी ह्यात होटलमा बास बस्ने भएकाले शनिबार बिहानै बौद्ध, चाबहिल, मित्रपार्क, गौशाला हुँदै एयरपोर्ट र तीनकुने क्षेत्रको यातायात प्रभावित हुनेछ । मोदी मुक्तिनाथको दर्शनपछि सिधै काठमाडौं फर्किने छन् । मुक्तिनाथबाट फर्किएपछि पशुपति दर्शनको कार्यक्रम रहेकाले पुनः तीनकुने, एयरपोर्ट, गौशाला र मित्रपार्क क्षेत्रको सवारी आवगमन प्रभावित हुनेछ ।

शनिबार दिउँसो २ बजेपछि मोदी नागरिक अभिनन्दनका लागि ह्यात होटलबाट राष्ट्रिय सभागृह पुग्नेछन् । होटलबाट सभागृह पुग्दा चाबहिल, गौशाला, तीनकुने, कोटेश्वर, बानेश्वर, माइतीघर, थापाथली, पुतलीसडक र रत्नपार्क क्षेत्रमा ट्राफिक जाम हुनेछ । महानगरपालिकाले राष्ट्रिय सभागृहमा नागरिक अभिनन्दन गरेपछि मोदी शनिबार साँझ स्वदेश फर्किने छन् ।
अन्नपूर्णबाट