प्रधानमन्त्री भन्छन् : प्रतिगमन र बिखण्डनका कुरा अब दिवास्वप्न मात्रै !

बैशाख २५, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डता र सुरक्षामा धावा बोल्ने माथि सरकारले कडा नीति लिने बताएका छन् ।राष्ट्रिय सुरक्षा परिषदको १७ औं सचिवालय बैठकलाई सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जातीयताका नाममा आतंक मच्चाउने कार्य सह्य नहुने बताए ।

‘कहिले जनताका नाममा, कहिले जातिका नाममा आतंक मच्चाउनेहरुलाई छोड्दैनौ’, प्रधानमन्त्री ओलीले भने राष्ट्र निर्माणको महाअभियानमा लागेका बेला अवरोध गर्नेहरु प्रति सरकार टुलुटुलु हेरेर बस्दैन । उनले राष्ट्र अघि बढ्न लागेको बेलामा अराजकता मच्चाउने विरुद्ध सरकार कडारुपमा प्रस्तुत हुने बताए ।

उनले भने, राष्ट्र अघि बढ्न लागेका बेला बाटोमा बम हान्ने, जनता एकजुट भएका बेला बिखण्डनका कुरा गर्ने, धार्मिक विद्वेष फैलाउनेहरुबाट सजग हुनु पर्छ । प्रधानमन्त्री ओलीले नेपाल लोकतान्त्रिक मार्गमा द्रुत गतिमा अघि बढ्ने र देश भौगोलिक रुपमा अखण्ड रहने बताए ।

अब प्रतिगमन र बिखण्डनका कुरा गर्नु दिवा सपना मात्र हो । प्रधानमन्त्री ओलीले भने, कसैले षड्यन्त्रको जगमा आफ्नो दुनो सोझ्याउन खोज्छ भने त्यसलाई ठीक लाउने ठाउँमा हामी छौं । राष्ट्रिय सुरक्षा परिषदले विगतको द्वन्द्व, हिंसा, नाकाबन्दीमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउदै प्रधानमन्त्री ओलीले भने, यो सबै भूमिका नेपालको स्वाभिमानको सुरक्षा हो ।
अन्नपूर्णबाट