कांग्रेसका नेताहरुले भने – ‘जे भयो-भयो, अब मिलेर जाऊँ’

बैशाख २३, काठमाडौं – कांग्रेसका नवनियुक्त पदाधिकारीले शनिबार वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालालाई भेटेर सहयोगको अपिल गरेका छन् ।

सभापति शेरबहादुर देउवाले शुक्रबारको निर्वाचित कार्यसमितिको बैठकबाट उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खडका र सहमहामन्त्रीमा प्रकाशशरण महतलाई मनोनयन गरेका थिए ।

मनोनयन प्रक्रिया विधानविपरीत भएको भन्दै संस्थापनइतर पक्षले बैठक बहिष्कार गरेको थियो । आजको कान्तिपुरले पृष्ठ ४ मा यो समाचार छापेको छ ।

वरिष्ठ नेता पौडेल पक्षले विधानविपरीतको प्रक्रियालाई नमान्ने घोषणा गरिरहेका बेला निधि, खडका र महतले एकसाथ पौडेल र महामन्त्री कोइरालालाई भेटेर सहयोग मागेका हुन् ।

‘अब जे भयो-भयो, पार्टीलाई एकताका साथ अघि बढाउन तपाईंहरूकै मार्गदर्शनअनुसार अघि बढ्छौं भनेर हामीले भन्यौं,’ उपसभापति निधिले भने, ‘उहॉले पनि शीर्ष नेताहरूबीच कुनै विषयमा फरक धारणा भए पनि मिलेर जानुपर्ने धारणा राख्नुभयो ।’