काभ्रेमा बन्ने भयो विमानस्थल, यस्तो छ तयारी !

बैशाख १९, धुलिखेल – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण गर्न काभ्रेमा वैकल्पिक विमानस्थल निर्माण गरिने भएको छ । आन्तरिक उडानलाई व्यवस्थापन गर्न काभ्रेको नागीडाँडा वा ठूलीचौरमा अबको १५ दिन भित्र विमानस्थल निर्माणको टुङ्गो लाग्ने भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले दुवै स्थानमा विमानस्थल निर्माणका लागि विभिन्न मितिमा प्रारम्भिक अध्ययन गरिसकेको छ । अध्ययनको लामो समय सम्म पनि विमानस्थलले गति लिन सकेको थिएन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले वैकल्पिक विमानस्थल निर्माणलाई विशेष चासो लिएपछि विमानस्थल निर्माणले सार्थकता पाउने भएको हो । पर्यटन मन्त्री अधिकारीले प्रस्तावित विमानस्थल क्षेत्रको आज स्थलगत अवलोकनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अबको १५ दिन भित्र काभ्रेमा कुन स्थानमा विमानस्थल बन्ने भन्ने टुंगो लगाइने बताए । उनका अनुसार मन्त्रालयद्वारा एक विज्ञ समिति दुई दिन भित्र गठन गरी १५ दिन भित्र प्रतिवेदन बुझाउने गरी जिम्मेवारी दिइनेछ । प्रतिवेदनको निष्कर्ष अनुरुप विमानस्थल निर्माण आगामी आर्थिक वर्षको बजेट भाषणमा समेटिने मन्त्री अधिकारीको भनाइ छ ।

“काठमाडौँ भन्दा बाहिर नजिकै आन्तरिक (डोमेस्टिक) विमानस्थल निर्माण गर्न सकियो भने अत्याधिक आन्तरिक उडान यहाँबाट गर्न सकिन्छ, हामीले आज हेरेका तीनै स्थान र यसभन्दा अगाडिका प्रतिवेदनको थप अध्ययन गरेर कुन प्रभावकारी, स्थानीय सहयोग र कम खर्चमा छिटो समयमा तयार हुनसक्छ छिट्टै निर्णय लिन्छौँ,”–मन्त्री अधिकारीले भने। पर्यटनमन्त्री अधिकारीले वैकल्पिक विमानस्थल निर्माणमा प्राविधिक लगायत सबै प्रक्रिया चाँडो अघि बढाउन आफ्नो घोषित १०० दिने कार्यक्रमभित्रै विमानस्थल कहाँ र कुन मोडलमा बन्ने भन्ने निर्णय भइसक्ने उल्लेख गरे ।

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काठमाडौँको विकल्पका रुपमा काभ्रेमा विमानस्थल निर्माण अपरिहार्य भएकाले यसमा सबैको सहयोग चाहिने बताए । उनले पर्यटकीय क्षेत्र काभ्रेको समग्र विकासका लागि पनि विमानस्थल आवश्यक रहेको भन्दै पर्याप्त स्रोत साधन परिचालन गरेर कम लागतमा चाँडो विमानस्थल निर्माण गरिनु पर्नेमा जोड दिए । बनेपा नगरपालिकाको नागीडाँडा तथा धुलिखेल नगरपालिकाको ठूलीचौर र चिसापानी ठूलीचौरको मन्त्री सहितको टोलीले निरीक्षण गरेको थियो । सहभागीले बैकल्पिक विमानस्थल निर्माण गर्दा स्थानीयको भावना र वातावरणीय सन्तुलन व्यवस्थापनलाई ध्यान दिनुपर्ने बताए भने अधिकांशले जिल्लाको समृद्धिका लागि विमानस्थल उपयुक्त हुने भन्दै निर्माणमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।

भौगोलिक अवस्थिति, विमानको रुट, मौसमी अवस्था र प्राविधिक हिसाबले उपयुक्त स्थानलाई विमानस्थल बनाइनेछ । पर्यटनमन्त्री अधिकारी, सञ्चार राज्यमन्त्री बाँस्कोटा सहित, काभ्रेका सांसद, नगरप्रमुख, क्यानका उच्च पदाधिकारी, स्थानीय व्यवसायी तथा सञ्चारकर्मीको टोलीले आज प्रस्तावित विमानस्थलको अवलोकन गरेको थियो । क्यानका महानिर्देशक सञ्जिव गौतमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘एयर ट्राफिक’ चाप कम गर्न काठमाडौँ नजिकको गन्तव्य काभ्रेमा विमानस्थल निर्माणका लागि अध्ययन भएको बताए ।

(काभ्रेमा विमानस्थल बनाउने बारेमा स्थलगत अनुगमन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्री रविन्द्र अधिकारी लगायत अन्य । तस्विरः रासस)
रासस