एक वर्षमा १ खर्ब बेरुजु : १७ अर्ब हिनामिना !

बैशाख १६, काठमाडौं – यो वर्ष विभिन्न मन्त्रालयमा १ खर्ब ९ अर्ब ६ करोड बेरुजु भएको छ । महालेखा परीक्षणले बेरुजु रकम मध्ये १७ अर्ब २५ करोड ९५ लाख हिनामिना भएको ठहर गरेको छ । महालेखाले विभिन्न मन्त्रालय र मातहतका निकायमा ४६ खर्ब ८७ अर्ब ९१ करोड रुपैयाँको लेखापरीक्षण गरेको थियो ।

१० मन्त्रालय र अन्तर्गतका निकायबाट मात्र १४ अर्ब ४२ करोड ५४ लाख असुल गर्न महालेखाले भनेको छ । बाँकी विभिन्न समिति र संंस्थाबाट २ अर्ब ८३ करोड ४१ लाख असुलउपर हुनु पर्ने औँल्याएको छ । कुल बेरुजु रकम मध्ये कर्मचारीले पेस्कीका रूपमा लिएका, तर फस्र्योट नभएको रकम २ अर्ब ६९ करोड १० लाख रुपैयाँ छ ।

जसमध्ये भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अन्तर्गतका संगठित संस्थाको बेरुजु सबैभन्दा धेरै पाइएको छ । यसमा मात्र २१ अर्ब २९ करोड ५१ लाख ३३ हजार रुपैयाँ बेरुजु पाइएको छ भने सामान्य प्रशासन मन्त्रालय र अन्तर्गतका संगठित संस्थामा सबैभन्दा कम बेरुजु पाइएको छ । यसमा ८९ लाख ६४ हजार बेरुजु छ ।
नयाँ पत्रिकाबाट