नेपाललाई छोडेर भारत र चीनले गर्ने विकासले पूर्णता पाउँदैन : अध्यक्ष प्रचण्ड

बैशाख १३, चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता नपाउने बताएका छन् । नेपाल नेत्रज्योति संघको २५ औं केन्द्रीय सभालाई सम्बोधन गर्दै उनले दुई देशको बीचमा रहेको नेपालको पनि सँगसँगै विकास भए मात्र दुई देशमा विकासले पूर्णता पाउने बताए ।

अध्यक्ष दाहालले भने, “ चाहे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको कुरामा होस् या चीनका राष्ट्रपति सि जिङ् पिङ्सँगको कुरामा होस् मैले भनेको छु तपार्इहरू एक्लै विकास गर्छु भनेर बीचमा भएको नेपाललाई छोड्दिनु भयो भने तपाइँहरुको विकास पूर्ण हुनेवाला छैन ।” अध्यक्ष दाहालले छिमेकी दुई देशको विकासको पूर्णताका लागि पनि नेपाल सबैभन्दा बढी लाभान्वित हुनु पर्ने बताए । पछिल्लो समय दुबै देशसँगको सम्बन्ध थप सुमधुर बन्दै गएको उनले बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेएका दाहालले आम नेपालीले सत्ता पक्ष, प्रतिपक्ष, मधेशी, पहाडी, हिमाली सबै मिलेर एकपटक विकासका लागि संकल्प गर्ने बेला आएको बताए । आठ, दश वर्ष मात्रै देशको विकास र सुशासनतिर केन्द्रीत भएर लाग्न सक्यो भने सबैलाई उछिन्ने सम्भावना रहेको दाहालले बताए ।
नागरिकबाट