सरकारले बाचा पुरा नगरे कांग्रेस उदाउँछः बामदेव गौतम

बैशाख ११, काठमाडौँ – एमाले उपाध्यक्ष वामदेव गौतमले सरकारले वाचा पुरा गर्न नसके नेपाली कांग्रेस पुनः उदाउने बताएका छन् । राउटे लोपोन्भमुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको ‘आदर्श दम्पती पुरस्कार तथा सम्मान कार्यक्रम’ मा बोल्दै गौतमले मुलुकलाई समृद्ध बनाउन जनताले वाम गठबन्धनलाई मतदान गरेको बताए ।

उनले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता छिट्टै हुने दावी गरे । नेपाली जनताले यी दुबै कम्युनिष्ट पार्टीलाई अभूतपूर्व शक्ति निर्वाचनबाट प्रदान गरेको बताउँदै गौतमले उक्त शक्तिलाई एकताबाट झन शक्तिशाली बनाउने जिकिर गरे ।

‘अहिलेको उपलब्धिलाई संस्थागत गरेर वाम गठबन्धनको सरकारले मुलुकलाई समृद्धि बनाउनुपर्छ’, उनले भने, ‘अहिलेको शक्तिलाई सदुपयोग गरेर काम गर्न सक्यौँ भने मुलुक समृद्ध बन्छ ।’ व्यक्ति विशेष नभई समाजलाई आधार बनाएर समाजवाद ल्याउने बताउँदै उनले लोपोन्मुख जातिको भाषा संस्कृतिलाई संरक्षण गर्नु पर्नेमा जोड दिए ।
नयाँ पत्रिकाबाट