३३ किलो सुन तस्करीको अनुसन्धानका लागि पूर्व डीआईजी निरौला पक्राउ

बैशाख १०, काठमाडौँ – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको ३३ किलो सुन तस्करीको अनुसन्धानका लागि पूर्व डीआईजी गोविन्द निरौला पक्राउ परेका छन् । अनुसन्धानका लागि पूर्व डीआईजी निरौला आइतबार साँझ नयाँ बानेश्वरबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

गृहका सहसचिव ईश्वरराज पौडेलले डीअईजी निरौला पक्राउ परेको र अनुसन्धान भइरहेको पुष्टि गरे । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको इन्चार्ज हुँदा उनले तस्करलाई सघाएको आशंकामा सरुवा गरिएको थियो । उनी माथि छानबिन भइरहेको प्रहरीले बताएको छ ।

गृहका सहसचिव पौडेलको संयोजकत्वको छानबिन टोलीले तत्कालीन अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई जिम्मेवारी हटाएर बयान लिइसकेको छ । सुन गायब हुनु, भरिया मारिनु र मुख्य तस्कर उम्कनुले प्रहरीको भूमिकालाई शंकास्पद रुपमा लिएर छानबिन समितिले गहिराईमै पुगेर जालो खोतल्ने गरी अनुसन्धान थालेको छ ।
अन्नपूर्णबाट