प्रधानमन्‍‍त्री ओलीको भारत भ्रमण सकारात्मक : भट्टराई

चैत्र २६, सिन्धुली – नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईले प्रधानमन्‍‍त्री केपी ओलीको भारत भ्रमण समग्रमा सकरात्मक भएको टिप्पणी गरेका छन् । आइतबार सिन्धुली जिल्लामा पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘आफ्नो राष्ट्रको हितलाई ख्याल गरेर कुटनीतिक चाल चाल्ने भएकाले राष्ट्रिय स्वाधिनताको ख्याल गर्दै अघि बढ्ने हो ।’ उनले भने ‘ नेपालमा संविधान जारी भएपछि भारतले नाकाबन्दी गर्नुको कारण नेपाली जनताले जान्न चाहेको, यसैलाई लिएर प्रधानमन्‍‍त्री ओलीले लोकप्रियता कमाएको अवस्थामा के स्वार्थले नाकाबन्दी गरेको हो, त्यो प्रधानमन्‍‍त्रीले गला मिलाउनु अघि खोतल्नु पर्छ, बाझाबाझ र सहजै मेलमिलाप जनताको नजरमा राम्रो हुदैन ।’

भट्टराईले ओलीको भारत भ्रमणको क्रममा नयाँ शक्तिपार्टीले दिएको १० बुँदे सुझाव मनन नगरेको टिप्पणी गरे । पुष्पकमल दाहालले नेतृत्व गरेको माओवादी एजेण्डा सकिएर एमालेमा विलय भएको भट्टराईले आरोप लगाए । जनतालाई झुक्याउदै सरकारमा जाने पुराना शक्तिहरुले देशलाई समृद्ध देश बनाउन नसक्ने बताए ।

फरक प्रसंगमा बोल्दै भट्टराईले नेत्रविक्रम चन्दले चालेको बाटो उपयुक्त नभएको बताए । आफुले लिएको बाटोबाट मात्र देशका समग्र समस्या समाधान हुने भएकाले विप्लवले लिएको बाटो आवश्यक नभएको पनि टिप्पणी गरे । राजनीतिक, सामाजिक, साँस्कृतिक, आर्थिक क्रान्तिलाई शान्तिपुर्वक तवरले गर्नु पर्ने बताउदै उनले संघर्षले समाधान ननिक्लने भएकाले हिंसात्मक नबन्न आग्रह गरे ।
नयाँ पत्रिकाबाट