कसैले धेरै चाट्छ भने छाला नै लैजान सक्छ: प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले संविधान जारी गर्दा त्यसमा भारतले केही असन्तुष्टि जनाए पनि अब त्यो विषय नै सकिएको पनि बताएका छन् ।

अन्जान शाक्य र माधवजी श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपाल–चाइना रिलेसन्स न्यु एभिन्युज एन्ड पोसिबिलिटिज’ राजधानीमा सोमबार लोकार्पण गर्दै प्रधानमन्त्रीले भने, ‘भारतसँगको सम्बन्ध अझै प्रगाढ बनाउन म नयाँदिल्ली केही समयभित्रै जाँदैछु ।’

ओलीले चीनको विषयमा पनि बोले । चीनले नेपालको सार्वभौमसत्ता, अखण्डता र आन्तरिक मामिलामा अहस्तक्षेपकारी नीति लिने खुला धारणा राखेको भन्दै ओलीले त्यसप्रति खुसी व्यक्त गरे । ‘अति निकटता देखाउँदा शंका पनि गर्नुपर्छ,’ उनले भने, ‘कसैले धेरै चाट्छ भने छाला नै लैजान सक्छ, गैंडा भएको मुलुकका नागरिक हौं, कतिसम्म चाटेको हो भन्ने थाहा पाउँछौं ।’ प्रधानमन्त्रीले नेपालको आन्तरिक मामिलामा कसैले हात हालेको सह्य नहुने पनि बताए ।