न्युरो अस्पतालमा तिघ्राको अप्रेसन गर्दा बिरामीको मृत्यु

चैत्र ७,विराटनगर – विराटनगरस्थित न्युरो अस्पतालमा देब्रे तिघ्राको हड्डीको शल्यक्रिया (अप्रेसन) गरिएकी बिरामीको मृत्यु चिकित्सकको लापरबाहीले भएको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । आफन्तले बुझ्न नमानेपछि शव अस्पतालमै छ । गत फागुन १९ गते हड्डीको शल्यक्रिया गरिएकी सिरहाको लाहान नगरपालिका १९ की २६ वर्षीया रन्जिता शाहको मङ्गलवार मृत्यु भएको जानकारी अस्पतालले आफन्तलाई दिएको छ ।

उनको उपचारका क्रममा बिहान ११ः५० बजे मृत्यु भएको थियो । धनुषाको मिथिला नगरपालिका–३ ढल्केबरस्थित पूर्वपश्चिम राजमार्गमा गत फागुन १८ गते भएको दुर्घटनामा उनको तिघ्राको हड्डी भाँचिएको थियो । पूर्वतर्फ आउँदै गरेको साह चढेको स १ च १२१७ नम्बरको कार र पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको डब्लुबी ७४ यु १९६६ नम्बरको कार एकआपसमा जुध्दा घटना भएको थियो ।

यसै वीच त्यस लगत्तै उनलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको थियो । चिकित्सकले हड्डी भाँचिएका कारण शल्यक्रिया गर्नु पर्ने सुझाव दिएको भाइ ललितकुमार साहले बताए । उनले अस्पतालका हाडजोर्नी तथा नशा रोग विभाग प्रमुख डा. नवीनकुमार कर्णको नाममा अर्कै चिकित्सकले शल्यक्रिया गरेपछि दिदीको ज्यान गएको बताए । रञ्जीताको हड्डीको शल्यक्रिया डा शिलानन्द श्रीवास्तवले गरेका थिए । कर्ण त्यति बेला बिदामा थिए । ‘नवीनकुमार कर्णले शल्यक्रिया गर्ने भनेर हामीलाई जानकारी गराइयो,’ ललितले भने, ‘पछि शल्यक्रिया अर्कै चिकित्सकले गरेको पाइयो ।’
अन्नपूर्णबाट