गृहमन्त्री थापा त्रिभुवन विमानस्थल पुग्दा कर्मचारी खाजा खान गए

चैत्र ७,काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरिक्षण गरेका छन् । मंगलबार दिउँसो एक्कासी ‘छड्के’ जाँचको थापा विमानस्थल पुग्दा कर्मचारीहर आ आफ्नै सुरमा थिए ।

थापा विमास्थल पुग्दा अध्यागम विमाग र अन्तर्राष्ट्रिय उडानतर्फको कक्षका अधिकांश कर्मचारी अनुपस्थित थिए । त्यसबारे जिज्ञासा राख्दा एक कर्मचारीले ‘खाजा खान गएको’ भनेका थिए । उनले खाजा खाने समय १ बजेदेखि दुई बजेबीचमा हुनुपर्ने भन्दै कार्यकक्षमा नरहेका कर्मचारीलाई कारबाही गरिने बताए ।

उनले विमानस्थलको कन्ट्रोल रुमको पनि अवलोकन गरेका थिए । थापाले आफूले गृह मन्त्रालयको मातहतमा पर्ने हरेक क्षेत्रको सुधारलाई प्राथमिकतामा राखेको बताए । ‘यहाँ आउने जाने नागरिकले दुःख पाउनु नपरोस् भन्ने हाम्रो उद्देश्य हो’, उनले भने, ‘कार्यकक्षमा नभएका कर्मचारीलाई कारबाही हुन्छ ।’