पाँच बर्ष भित्रमा काठमाडौंमा रेल गुड्छ – मन्त्री महासेठ

चैत्र ५, काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ५ बर्ष भित्रमा काठमाडौंमा रेल गुड्ने बताएका छन् । महासेठले केही दिन भित्र नै काठमाण्डौ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर उप–महानगरपालिका, सडक विभाग, रेल विभाग, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखा बीच विशेष छलफल गरेर काठमाण्डौ उपत्यकाको सडक र सवारी व्यवस्थापनका लागि योजना बनाइने स्पष्ट पारे । चुनावका लागि बनाइएको साझा घोषणापत्रमा उल्लेख गरिएका सबै काम पाँच वर्ष भित्रै सम्पन्न गरिने उनको दाबी छ ।

आइतबार रिपोर्टस क्लब नेपालले गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री महासेठले अहिलेको सरकारलाई काम नगर्नका लागि कुनै पनि बहाना नभएकाले पाँच बर्ष भित्रमा लक्षित योजनाहरु सम्पन्न गरेरै छाड्ने बताए । आर्थिक समृद्धि र भौतिक पूर्वाधार विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओली प्रतिवद्ध रहेको उल्लेख गर्दै उनले एकै वर्षमा चमत्कार गर्न नसकिए पनि पाँच वर्ष भित्रैमा चमत्कार गरेर देखाउने बताए ।

नेपालमा विकासका लागि पर्याप्त स्रोत साधन भएपनि त्यसको सदुपयोग हुन नसक्दा विकास हुन नसकेको भन्दै उनले अब सबै स्रोत साधनको सदुपयोग गरिने बताए । “एउटा खानी उत्खनन गर्न सके पनि ५० वर्षलाई पुग्छ । हामीले नसकेको काम बाहिरको सहयोग लिएर गर्न सक्छौँ । सहयोग त चीनले पनि लिन्छ नि ।” उनले भने ।

अघिल्लो सरकारले देशको अर्थतन्त्र लथालिङ्ग पारेर छोडेको आरोप लगाउँदै उनले आफूहरु उच्च मनोबलका साथ काम गरेर सबै समस्या हल गर्ने बताए । फरक प्रसङ्गमा महासेठले संघीय समाजवादी फोरम नेपाल र राजपा छिट्टै सरकारमा सहभागी हुने बताए । उनले भने, “फोरम र राजपा सरकारमा आउँछन्, ढुक्क हुनुस् । फोरम २ दिन भित्रमा आउँछ । राजपा पनि केही दिनमा आउँछ ।” यातायात मन्त्री समेत रहेका मन्त्री महासेठले २० वर्ष पुराना सवारी साधन हटाउने विषयमा आफूले पुनः विचार गर्ने बताए । “२० वर्ष पुराना गाडी हटाउने निर्णयका विषयमा हामी गम्भीर छौँ । चाँडै नै नयाँ नीति बनाउँछौँ ।” उनले भने ।
हिमालय टाइम्सबाट