आगामी पाँच वर्ष नेपालका लागि असाधारण समय : प्रधानमन्त्री

फागुन २५, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आउने पाँच वर्ष नेपालको विकासका लागि असाधारण समय हुने बताए । ‘आउने आधा दशक नेपालका लागि असाधारण हुनेछ’ प्रधानमन्त्री ओलीले भने ‘यो समय सफलता,परिवर्तन र उपलब्धीको समय हुनेछ ।’

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ७ औं अन्तराष्ट्रिय व्यापार मेलाको बिहीबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार निजी क्षेत्रको संरक्षणमा प्रतिवद्ध भएको विश्वास दिलाए । प्रधानमन्त्री ओलीले सरकार सार्वजनिक, निजी र सहकारी मार्फत समृद्धिको यात्रामा अघि बढ्ने बताए । प्रधानमन्त्री ओलीले भने ‘सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार छ । ’

वर्तमान सरकार देश र जनता प्रति उतरदायी भएको बताउदै प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचारका विरुद्ध र देशको दुरदृष्टिका पक्षमा रहेको बताए । प्रधानमन्त्री ओलीले भने ‘सरकारका सम्पूर्ण प्रयास उत्पादन वृद्धि, आकर्षक रोजगारी र आकर्षक अवसरका लागि केन्द्रित हुनेछन् । ’ जनताको काम छिटो छरितो ढंगले गर्नका लागि अत्याधुनिक प्रविधिको प्रयोग गरिने प्रधानमन्त्री ओलीको भनार्इ छ ।

प्रधानमन्त्री ओलीले नेपालको आयात र निर्यात व्यापारको खाडल डरलाग्दो भएकोले त्यसलाई पुर्न निर्यातजन्य उत्पादन बढाउन प्रधानमन्त्री ओलीले सुझाव दिए । ‘हामी १०० रुपैंयाको सामान किन्दा ७ रुपैंयाको सामान बेच्दा रहेछौं’ प्रधानमन्त्री ओलीले भने ‘हरेक पटक हामी ९३ रुपैंया घाटाको व्यापार गरिरहेका छौं । यसलाई उकास्ने एक मात्र माध्यम निर्यात व्यापार बढाउनु हो ।’
अन्नपूर्णबाट