राष्ट्रपतिका लागि एमालेमा तीन आकांक्षी : भण्डारी, खनाल र नेम्वाङको लबिङ यस्तो

फागुन १३ ,काठमाडौं – राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मिति तोकेसँगै सत्तासीन दल नेकपा एमाले भित्र दौडधुप बढेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट ठूलो दल बनेको एमालेमा राष्ट्रपतिका लागि सबैभन्दा बढी आकांक्षी देखिएका छन् । आयोगले २९ फागुनमा राष्ट्रपति निर्वाचन मिति तोकेको छ । राष्ट्रपतिका लागि एमाले भित्र दाबेदारहरूले लबिङ गरिरहेका छन् । राष्ट्रपति पदका लागि एमालेभित्र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले पूर्वअध्यक्ष झलनाथ खनाल र पूर्वसभामुख समेत रहेका एमाले नेता सुवास नेम्बाङ लबिङमा छन् । यस्तै नेता माधवकुमार नेपाललाई समेत केही नेताले राष्ट्रपतिका लागि उम्मेदवार बन्न हौस्याएका छन् ।

एमाले उच्च स्रोतका अनुसार वर्तमान राष्ट्रपति भण्डारीलाई नै निरन्तरता दिने पक्षमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली रहेका छन् । तर उनलाई पार्टीभित्रै ब्यालेन्स मिलाउन पनि भण्डारी बाहेकलाई नै राष्ट्रपति बनाउनु पर्ने दबाब छ । वर्तमान राष्ट्रपति भण्डारीले राष्ट्रपति पदका लागि माओवादी केन्द्रको समेत साथ लिएर सके सम्म सहमतिमा नै कार्यकाल दो¥याउन चाहेकी छन् ।

राष्ट्रपतिका लागि एमाले नेता नेम्वाङले आफू निकटका नेतासँगको भेटघाटलाई तीव्रता दिएका छन् । उनले आफ्ना निकटका नेतासँग आफूलाई उपप्रधान सहित जिम्मेवार मन्त्रालय लिएर सरकारमा सहभागी हुन प्रधानमन्त्रीबाट आग्रह भएको भए पनि आफ्नो इच्छा मन्त्रीमा नभएको भन्दै राष्ट्रपतिमा नै रहेको बताएका छन् । अर्का नेता खनालले त सार्वजनिक कार्यक्रमहरूमा नै पार्टीले जिम्मा दिए आफू राष्ट्रपतिका लागि तयार रहेको दाबी गर्दै आएका छन् । उनले समेत राष्ट्रपतिका लागि आफू निकटका नेतासँग छलफल थालिसकेका छन् ।

यता कांग्रेसले भने राष्ट्रपति पदमा उम्मेदवारी दिने या नदिने भन्ने विषयमा केन्द्रीय समिति बैठकमा छलफल गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार (आज) का लागि बोलाइएको बैठकमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए । उनले संसदमा गणितीय रूपमा कमजोर रहेकाले राष्ट्रपतिका लागि उम्मेदवारी दिने वा नदिने भन्ने विषयमा बैठकमा नै छलफल हुने जानकारी दिए ।
राजधानीबाट