संघीय सरकारमा अब १७ मन्त्रालय कायम रहने : १३ वटा गाभिए

 

फागुन ११, काठमाडौं -अब संघीय सरकारमा बढीमा १७ वटा मन्त्रालय रहने भएका छन् । केन्द्रीकृत शासन प्रणाली अनुसार स्थापना भएका ३० वटा मन्त्रालय गाभिएर १७ वटामा सीमित हुने भएका हुन् । अहिले केन्द्रीय निकाय (प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय) बाहेक ३० वटा मन्त्रालय छन् । अब केन्द्रीय निकाय सहित १८ वटा प्रमुख निकाय रहने छन् । मन्त्रालय गाभिएसँगै एक दर्जन सचिव फाजिल (जिम्मेवारी विहीन) हुने भएका छन् ।

जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले अब मन्त्रालयको संख्या बढीमा १७ वटा सम्म रहने बताए। सम्भवतः अब बस्ने मन्त्रिपरिषद बैठकले संघीय सरकारमा रहने मन्त्रालयको अन्तिम टुंगो लगाउने उनले जानकारी दिए । १७ वटा मन्त्रालय र तिनका कार्य, जिम्मेवारी समेत निर्धारण गरी प्रधानमन्त्री कार्यालयले मन्त्रिपरिषदमा अन्तिम प्रस्ताव पेस गर्ने तयारी गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गाभिएर एउटै मन्त्रालय बन्ने भएको छ । यसैगरी कृषि, पशु विकास र भूमिसुधार मन्त्रालय गाभिएर कृषि, सहकारी तथा भूमिव्यवस्था मन्त्रालय बन्नेछ । सिँचाइ, ऊर्जा र खानेपानी मन्त्रालय गाभिएर जलस्रोत तथा ऊर्जा मन्त्रालय बन्ने भएको छ ।
अन्नपूर्णबाट