अब समृद्ध नेपाल निर्माण तर्फ लाग्छौं : प्रधानमन्त्री ओली

फागुन ८, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अब सुखी नेपाली र समृद्ध नेपाल निर्माणमा केन्द्रित हुनु पर्ने बताएका छन् । सोमबार दोस्रो निर्वाचन दिवसको अवसरमा प्रधानमन्त्री ओलीले मौलिक तथा आधारभूत राजनीतिक तथा सामाजिक अधिकार संविधानबाट नै सुनिश्चित भएको वर्तमान परिप्रेक्ष्यमा अबको बाटो सुखी नेपाली, समृद्ध नेपाल निर्माणतर्फ केन्द्रित हुनु रहेको बताएका हुन् ।

उनले आन्तरिक स्रोत र साधनको अत्याधिक सदुपयोग, कृषिको आधुनिकीकरण, पर्यटन विकास, वातावरण संरक्षण, वृहत्तर विकासका पूर्वाधार निर्माण, आधुनिक उद्योगधन्दाको स्थापना र रोजगारीको प्रवर्द्धन गर्दै अघि बढ्नु पर्ने बताए ।प्रधानमन्त्री ओलीले राष्ट्रमा पहिलो पटक २०१५ साल फागुन ७ गते निर्वाचन प्रारम्भ भएको दिनलाई विशेष सम्झना गरी निर्वाचन आयोगले गत वर्षदेखि शुरु गरेको निर्वाचन दिवसको दोस्रो वर्षको अवसरमा शुभकामना दिए ।

निर्वाचित जनप्रतिनिधि मार्फत शासन गर्ने र लोकतान्त्रिक पद्दतिलाई संस्थागत गर्ने जिम्मेवारी तीनै तहको निर्वाचनमा उत्साहपूर्वक सहभागी भई नेपाली जनताले पूरा गरेको प्रधानमन्त्री ओलीले बताए । उनले ऐतिहासिक निर्वाचनले लामो समयको राजनीतिक द्वन्द्व र संक्रमणको विधिवत अन्त्य गरी नेपाली जनतालाई पूर्ण सार्वभौम बनाई लोकतन्त्रलाई सुदृढ गर्न देशको भाग्य र भविष्य आफै निर्धारण गर्न मार्ग प्रशस्त गरेको बताए ।
अन्नपूर्णबाट