दुई दिन भित्रै देउवाको राजीनामा : कानूनमन्त्री थापा

माघ २६, काठमाडौं – कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले आगामी फागुनको पहिलो साता नयाँ सरकार बन्ने दाबी गरेका छन् । उनले भने, ‘फागुण ७ गतेको प्रजातन्त्र दिवस मनाएर हामी बिदा हुन्छौं, त्यही दिन नयाँ सरकार गठन हुन्छ, वाम गठबन्धन खासगरी एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार बन्छ, उहाँलाई मेरो शुभकामना छ।’

बिहीबार एक कार्यक्रममा बोल्दै मन्त्री थापाले राष्ट्रिय सभाको निर्वाचनसँगै आफूहरुको दायित्व पूरा भएको बताए । उनले भने, ‘निर्वाचन सम्पन्न भयो, मैले त धेरै पहिले बोलेको थिएँ, कि नयाँ सरकार फागुनको ७ गते नै बन्छ भनेर, त्यतिवेला धेरै टिका टिप्पणी भएको थियो, तर मैले हिसाबकिताब गरेर नै त्यो खुलासा गरेको थिएँ, अबको १० वा १२ दिन भित्रै त्यो कुरा प्रमाणित हुन्छ ।’ मन्त्री थापाले एक दुई दिन भित्रै प्रधानमन्त्री शेर बहादुर देउवाको राजीनामा आउने जानकारी दिए ।

उनले सरकारले मन्त्रिपरिषदको बैठकबाट राष्ट्रिय सभा सदस्यको लागि तीन जनाको नाम सिफारिसका सम्बन्धमा छलफल गर्ने बताए । उनले भने, ‘अब बस्ने क्याबिनेट बैठकमा यो बारेमा हामी छलफल गर्छौं, तीन जनाको नाम सिफारिस गर्दा साझा व्यक्तित्व चयन गर्छौ, योग्यता पुगेकालाई सफारिस गर्छौं, सभाको वजन र गरिमालाई धान्न सक्ने व्यक्तित्व चयन गर्छौं ।’
अन्नपूर्णबाट