राष्ट्रियसभा सदस्य चयनका लागि आज मतदान हुँदै

माघ २४,काठमाडौं  – राष्ट्रियसभा सदस्य चयनका लागि बुधबार मतदान हुँदै छ । चुनावका लागि सम्पूर्ण तयारी पूरा भएको छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने कार्यक्रम छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले चुनावका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाएको जानकारी दिए ।

राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सांसद गरी २ हजार ५६ जना मतदाताले मतदान गर्नेछन् । संविधानको धारा ८६ को उपधारा २ र राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश २०७४ को दफा ३ को १ अनुसार निर्वाचन मण्डलले दिएको मतको आधारमा एकल संक्रमणीय मतप्रणाली र बहुमतीय प्रणालीबाट प्रत्येक प्रदेशबाट ८ जनाका दरले कुल ५६ जना राष्ट्रियसभा सदस्यहरु निर्वाचित हुनेछन् । प्रत्येक प्रदेशबाट निर्वाचित हुने ८ जनामा ३ महिला, एक दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट तथा अरु ३ जना निर्वाचित हुनेछन् ।  निर्वाचनको तयारीबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त यादवले भने, ‘विगतका निर्वाचनझैं राष्ट्रियसभा निर्वाचन पनि शान्तिपूर्ण र उल्लासमय वातावरणमा सम्पन्न हुनेमा आयोग विश्वस्त छ ।’

चुनाव सुरक्षाका लागि नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीसहितको तीन घेरे सुरक्षा प्रबन्ध गरिएको गृह मन्त्रालयले जनाएको छ । प्रदेश १, ३, ४, ५, ६ र ७ गरी ६ वटा प्रदेशमा मतदान हुनेछन् । प्रदेशका उच्च अदालत रहेका स्थानमा मतदान केन्द्र कायम गरिएको छ । ६ वटा प्रदेशका १२ वटा मतदान केन्द्रमा मतदान हुनेछ ।

राष्ट्रियसभा चुनावमा ३२ सिटमा नौ दलका ५२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रदेश २ मा आठै पदसहित २४ सिटमा निर्विरोध भइसकेको छ । निर्विरोध भएकालाई बुधबार नै प्रमाणपत्र प्रदान गरिनेछ ।

एकल संक्रमणीय मत प्रणालीबमोजिम प्रत्येक प्रदेशबाट आठ जनाका दरले राष्ट्रियसभामा कुल ५६ जना निर्वाचित हुने व्यवस्था संविधानमै छ । प्रत्येक प्रदेशबाट महिला तीन, दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक र अन्य तीनजना निर्वाचित हुनेछन् ।

महिला तीन र अन्य तीन सदस्यका लागि एकल संक्रमणीय मत प्रणालीअनुसार मतदान हुनेछ भने दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक गरी दुई सदस्यका लागि राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशअनुसार सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुनेछन् ।

प्रदेश १ मा महिला ३ र अन्य ३ गरी ६ जना उम्मेदवार निर्विरोध भएकाले दलित १ र अपांगता भएका वा अल्पसंख्यक समुदायबाट १ गरी २ सदस्यका लागि मतदान हुँदै छ ।

प्रदेश ३ मा ८ वटै पदमा मतदान हुनेछ । प्रदेश ४ मा अपांगता भएका वा अल्पसंख्यक समुदायबाट १ सदस्यमा उम्मेदवार निर्विरोध निर्वाचित भएकाले बाँकी सदस्य चयनका लागि निर्वाचन हुँदै छ ।

यसैगरी, प्रदेश ५ मा महिला ३ सदस्यमा उम्मेदवार निर्विरोध भइसकेकाले अन्य ३, दलित १ र अपांगता भएका वा अल्पसंख्यक समुदायबाट १ गरी ५ सदस्यका लागि निर्वाचन हुँदै छ ।

त्यस्तै, प्रदेश ६ मा सबै पदमा निर्वाचन हुँदै छ भने प्रदेश ७ मा महिला ३ र अन्य ३ गरी ६ सदस्य निर्विरोध भएकाले दलित १ र अपांगता भएका वा अल्पसंख्यक समुदायबाट १ गरी २ सदस्यमा निर्वाचन हुँदै छ ।

मतदान कसरी

यो चुनावमा मतदान तरिका फरक छ । चुनावमा स्वस्तिक चिह्नको प्रयोग नगरीकनै मतदान हुनेछ । प्रदेशसभा सदस्यले हरियो रंगको मतपत्रबाट र स्थानीय तहका मतदाताले रातो रंगको मतपत्रमा मत संकेत गर्नुपर्नेछ ।

महिला, दलित, अपांग, अल्पसंख्यक र अन्य समूह गरी चार वटा मतपत्र प्रयोग गरिएको छ ।

तीन महिला र अन्य ३ सदस्यका लागि एकल संक्रमणीय मतका आधारमा मत संकेत गर्नुपर्ने भएकाले मतदाताले बढीमा तीन जना उम्मेदवारलाई १, २ र ३ भनी प्राथमिकता तोक्नुपर्ने छ ।

महिला र अपांगता भएका वा अल्पसंख्यक समुदायबाट निर्वाचित हुने सदस्यको मतपत्र पनि अलग–अलग तयार गरिएकाले हरेक मतपत्रमा बढीमा एक जना उम्मेदवारलाई तोकिएको स्थानमा ठीक चिह्न संकेत गर्नुपर्नेछ ।

स्थानीय तहका मतदाताले सही तरिकाले मत संकेत नगर्दा १८ मतभार र प्रदेशसभा सदस्यले सही तरिकाले मत संकेत नगर्दा ४८ मतभार फरक पर्ने हुनाले मत बदर नहुने गरी संकेत गर्न उम्मेदवार तथा मतदातासँग आयोगले आग्रह गरेको छ ।

मतदान सकिएलगत्तै मतगणना सुरु गरी छिटो सक्न सबै निर्वाचन अधिकृतलाई निर्देशन दिइएको प्रमुख निर्वाचन आयुक्त डा.यादवले बताए । दुई दिनमा आयोगले सातवटै प्रदेशको अन्तिम परिणाम सार्वजनिक गरी परिणाम राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी गरेको छ । मतगणनाका लागि आयोगले प्रत्येक प्रदेशमा तथ्यांक विभागका तालिमप्राप्त पाँच जना गणक खटाएको छ ।