अझै फिर्ता भएन माओवादीले कब्जा गरेको जग्गा

माघ १७, रुकुम – तत्कालिन नेकपा माओवादीले द्वन्द्वको समयमा कब्जा गरिएका जग्गा तथा सम्पत्ती फिर्ता गर्ने भनिए पनि यहाँ अझै फिर्ता हुन सकेको छैन् । साविकको खोलागाउँ गाविस–४ का गोपालप्रसाद शर्माको तत्कालीन नेकपा (माओवादी) ले कब्जा गरेको जग्गा फिर्ता हुन नसकेको हो ।

वि.सं. ०५८ सालमा आफ्ना नाममा रहेको कित्ता नंं ५८३ को एक हजार सातसय वर्गमिटर क्षेत्रफलको जग्गा तत्कालीन नेकपा (माओवादी) ले कब्जा गरेको शर्माले जानकारी दिए। उनले भने– ‘भएको जग्गामा एक्कासी माओवादी आएर कब्जा गरे , दिन नमान्दा नमान्दै धम्की दिएर जग्गा लिए ।’ उक्त जग्गा खोलागाउँका तत्कालिन जनसरकार प्रमुख श्यामलाल दमाइले भोगचलन गरिरहेको पीडित शर्माले बताए । अहिले पनि उनैले उक्त जग्गा प्रयोग गरिरहेको उनको भनाई छ । शान्ति स्थापना भएको १२ वर्ष पुग्नै लाग्दा पनि जग्गा फिर्ता नपाउनु दुःखद भएको भन्दै उनले तत्काल जग्गा फिर्ता हुनुपर्ने बताएका छन् ।

जग्गा फिर्ताको लागि उनले सत्य निरुपन तथा मेलमिलाप आयोगमा उजुरी समेत हालेका थिए । तर उक्त उजुरी बिचाराधिन अवस्थामा रहेपछि उनी झन निराश भएका छन् । ‘जग्गा पाउने आशमा उजुरी दर्ता गरें’ उनले भने, ‘उक्त उजुरी माथि छानबिन पनि नहुँदा दुःख लागेको छ।’
नागरिकबाट