रानीपोखरी पुनर्निर्माणमा तीन करोड डुब्ने डर

माघ ८,काठमाडौ— रानीपोखरी पुनर्निर्माणका नाममा काठमाडौं महानगरपालिकाले खर्चेको करिब तीन करोड रुपैयाँ डुब्ने भएको छ
रानीपोखरी पुनर्निर्माणमा विवाद भएपछि गठन गरिएको विशेषज्ञ समितिले रानीपोखरीमा हालसम्म निर्माण भएका सबै संरचना भत्काउन सुझाव दिएकाले हालसम्म खर्च गरिएको रकम खेर जाने भएको छ । रानीपोखरी पुनर्निर्माणका नाममा काठमाडौं महानगरपालिकाले खर्चेको करिब तीन करोड रुपैयाँ डुब्ने भएको छ

रानीपोखरी पुनर्निर्माणबारे विवाद उत्पन्न भएपछि गत पुस १३ गते रानीपोखरी पुनर्निर्माण अध्ययनका लागि विशेषज्ञ समिति बनाइएको थियो ।
समितिले आइतबार काठमाडौं महानगरपालिकालाई प्रतिवेदन बुझाउँदै मल्लकालीन स्वरूपमा रानीपोखरी पुनर्निर्माण गर्न अहिले निर्माण भएका सबै संरचना भत्काउन सुझाव दिएको छ ।
समितिको सुझावअनुसार महानगरले हालसम्म निर्माण गरेका संरचना भत्काउँदा खर्च भएको करिब तीन करोड रुपैयाँ डुब्नेछ । यसैगरी, पुरातव विभागले पुनर्निर्माण गरिरहेको पोखरीबीचको बालगोपालेश्वर मन्दिरमा खर्चेको करिब एक करोड रुपैयाँ समेत डुब्ने देखिन्छ।

‘ठेकेदार कम्पनीका अनुसार रानीपोखरी पुनर्निर्माणको ८० प्रतिशत काम सकिएको छ । हालसम्मको काम सम्पन्न गर्दा कम्पनीले चार करोड रुपैयाँ खर्च गरिसकेको कम्पनी सञ्चालक अशोक श्रेष्ठले दाबी गरे । ‘हामीले महागनरसँग गरेको सम्झौतानुसार रानीपोखरी पुनर्निर्माण गरिरहेका छौँ,’ उनले भने, ‘८० प्रतिशत काम गर्दा हाम्रोतर्फबाट चार करोड रुपैयाँ खर्च भएको छ ।’ यो समाचार आजको नागरिकमा छापिएको छ ।