एकता भाड्न ठूलो षड्यन्त्र भइरहेको छ – वाम गठबन्धन

पुस १६,काठमाडौं – वाम गठबन्धनका शीर्ष नेताले पार्टी एकता भाड्न ठूलो षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । वामदेव गौतमद्वारा लिखित ‘नेपाल नवनिर्माण महाअभियान’ पुस्तक विमोचनमा शनिबार एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकता विरुद्ध भइरहेका षड्यन्त्र सफल हुन नदिने दाबी गरे । एमाले अध्यक्ष ओलीले ५ वर्ष सरकारको नेतृत्व गर्न कांग्रेसले माओवादी अध्यक्ष दाहाललाई गरेको प्रस्तावको ओलीले खण्डन गरे । ‘त्यो प्रस्ताव माया गरेर देश बनाउन गरेको होइन, गठबन्धन भत्काउन, बिगार्ने षडयन्त्र हो,’ उनले भने ।

उनले जनताले वाम गठबन्धनलाई विश्वास गरी सुम्पेको जिम्मेवारी पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । उनले सके सम्म एकतापछि सरकारमा सामेल हुने नभए तालमेल गरेरै भए पनि सरकार बनाउने धारणा राखे । उनले भने, ‘जुनसुकै अबरोध आए पनि अबको सरकार वामपन्थी नेतृत्वमै बन्छ ।’
नयाँपत्रिकाबाट