प्रदेश प्रमुखहरूको नियुक्ति हतारमा नगर्न सरकारलाई एमालेको दबाब

मंसिर २७, काठमाडौं – एमालेले प्रदेश प्रमुखहरूको नियुक्ति हतारमा नगर्न सरकारलाई दबाब दिएको छ ।

प्रदेशसभा र प्रतिनिधिसभा चुनाव सम्पन्न भई नयाँ सरकार गठनको संघारमा रहेकाले प्रदेश प्रमुखसहितका दीर्घकालीन प्रभाव राख्ने नियुक्ति नगर्न एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएको हो । ‘यतिबेला प्रदेश प्रमुखको नियुक्ति गर्न मिल्दैन । राजनीतिक सहमतिमा गरिने नियुक्ति वर्तमान सरकारले एक्लै गर्न सक्दैन,’ एमालेका पोलिटब्युरो सदस्य विष्णु रिमालले भने, ‘हतारिएर निर्णय नगर्न हामीले प्रधानमन्त्रीलाई सन्देश पुर्‍याएका छौं ।’
स्वतन्त्र, निर्विवादित र प्रतिष्ठित छविका व्यक्तिलाई ७ वटै प्रदेशमा प्रमुख नियुक्त गर्न बाँकी छ । प्रदेश प्रमुखले मुख्यमन्त्रीलाई शपथ गराउनेसहितका कामकारबाही गर्नेछन् । एमाले नेता रिमालले सरकारले जबर्जस्ती प्रदेश प्रमुख नियुक्त गरे पछि बन्ने एमाले नेतृत्वको सरकारले हटाउने चेतावनीसमेत दिए । ‘कामचलाउ सरकारले यसरी नियुक्ति गर्ने नै होइन । एमाले र माओवादी केन्द्रसँग सरकारले छलफलसमेत गरेको छैन । यो अवस्थामा नियुक्ति हुने व्यक्तिलाई समेत विवादमा पार्ने गरी कुनै निर्णय नहोस् भनी हामीले सम्बन्धित निकायमा भनेका छौं,’ रिमालले जानकारी दिए ।

मन्त्रिपरिषद्‍को सोमबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्तिको तयारीबारे सुनाएका थिए । सम्भवत: आउने बैठकमा नियुक्ति हुने जानकारी देउवाले मन्त्रिपरिषद्‍का सदस्यहरूलाई दिएका थिए ।

एमाले महासचिव ईश्वर पोखरेलले सोमबारै विज्ञप्ति जारी गरी प्रदेश प्रमुखलगायत नियुक्ति प्रयास नगर्न आग्रह गरेका थिए । स्रोतका अनुसार एमाले र माओवादी केन्द्रका नेताहरूले त्यस्तो नियुक्ति नगर्न मुख्य सचिव लोकदर्शन रेग्मीलाई समेत दबाब दिएका छन् । रिमालले न्यायपालिकामा समेत नियुक्तिको प्रयास भएको भन्दै त्यसको विरोध गरिने जनाउ दिए ।