एमालेद्वारा उम्मेदवार माथि हुने आक्रमण र विस्फोटका घटना रोक्न आग्रह

 

मंसिर १४,काठमाडौं- नेकपा (एमाले) ले आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचन आइरहेका बेला उम्मेदवार केन्द्रित आक्रमण र विस्फोट लगायतका घटना रोक्न सरकारलाई आग्रह गरेको छ । एमाले निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले विज्ञप्ति जारी गर्दै निर्वाचन नजिक आइरहेका बेला उम्मेदवार माथि हुने आक्रमणका घटनाको निन्दा र भत्र्सना गर्दै लोकतन्त्र विरोधी र आतंकपूर्ण क्रियाकलाप रोक्न सरकारलाई आग्रह गरेका हुन् ।

साथै विज्ञप्तिमा निर्वाचन सुरक्षा व्यवस्था कडा पार्दै भय रहित वातावरणमा चुनाव प्रचारप्रसार र मतदान हुन्छ भन्ने अनुभूति जनतामा गराउन सरकारसँग आग्रह गरिएको छ । पटक–पटक शान्ति सुरक्षाको प्रत्याभूति गर्न हामीले गरेको आग्रहलाई सरकारले बेवास्ता गरेको भन्दै विज्ञप्तिमा केही दिनयता सुरक्षाकर्मीको ज्यानै जाने र उम्मेदवार आफैँ घाइते बन्ने जस्ता अत्यन्तै दुःखद घटना घट्न पुगेको बताइएको छ । एमालेले सरकारले उम्मेदवार लगायत निर्वाचन सुरक्षा व्यवस्थामा उचित ध्यान दिन नसक्दा यस्ता दुःखद घटना घटनुका साथै जनतालाई आतंकित पार्ने क्रियाकलाप बढिरहेको जनाएको छ ।
रासस