प्रधानमन्त्रीको सभास्थल नजिक भएको बम बिस्फोटमा परि एक म्यादी प्रहरीको मृत्यु

दाङको तुलसीपुरमा मंगलबार भएको बम विस्फोटनमा परि एक जना म्यादी प्रहरीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका म्यादी प्रहरी तुलसीपुर १८ निवासी १९ वर्षीय विनोद चौधरीको गएराति उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा निधन भएको हो।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ निवासी २३ वर्षीया जेनी डिसी, सल्यान जिल्लाको बागचौर गाउँपालिका वडा नं. ४ निवासी ४० वर्षीया देवीकुमारी डिसी र तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ निवासी ४० वर्षीय बमराज सुनारको अवस्था अझै गम्भीर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् डिएसपी सुधिरराज शाहीले जानकारी दिए।

उनीहरू तीनै जनालाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर ‘रेफर’ गरिएको हो।

अन्य घाइतेहरूमा बबई गाउँपालिका वडा नं. ६ निवासी १८ वर्षीय सुनिता चौधरी, सल्यान जिल्लाको ढोरचौर गाउँपालिका वडा नं. २ निवासी ४५ वर्षीया नरपनी बुढाथोकी, बबई गाउँपालिका वडा नं. ६ निवासी ३६ वर्षीय नेवबहादुर खत्री, शान्तिनगर गाउँपालिका वडा नं. २ निवासी ५० वर्षीय हेमराज रामजाली र तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ निवासी २३ वर्षीय विनोद चौधरी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तुलसीपुरस्थित अरनीको मैदानमा आयोजित कार्यक्रम स्थलमा पुगेलगतै त्यसको झन्डै डेढसय मिटरको दूरीमा मुख्य बजारमा बम विस्फोट भएको थियो।