नेइमार र काभानीको गोलले पिएसजीको अग्रता ९ अंकमा पुग्यो

 

मंसिर ११, काठमाडौं – लिग लिडर पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वान फुटबलमा ९ अंकको अग्रता लिएको छ। आइतबार राति मोनाकोलाई २–१ ले पन्छाउँदै पिएसजीले दोस्रो स्थानको लियोनसँगको अंक दूरी ९ मा पुर्‍याएको हो।
पिएसजीलाई जिताउन नेइमार र एडिसन काभानीले गोल गरे। मोनाकोका लागि जोएओ माउटिन्होले एक गोल फर्काए।

खेलको १९ औं मिनेटमा काभानीको गोलबाट पिएसजीले पहिलो हाफमा १–० को अग्रता लियो। दोस्रो हाफको ५२ औं मिनेटमा नेइमारले गोल गर्दै खेललाई २-० मा पुर्‍याए। उनले पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै पिएसजीका लागि गोल गरेका थिए। खेल सकिन ९ मिनेट बाँकी हुँदा माउटिन्होले मोनाकोका लागि एक गोल फर्काए पनि हार जोगाउन पर्याप्त भएन।

यो जितपछि पिएसजीको १४ खेलबाट ३८ अंक भएको छ। दोस्रो स्थानको लियोनको २९ अंक छ। पिएसजीसँग पराजित मोनाकोको २९ अंक सहित तेस्रो स्थानमा छ। यस्तै समान खेलबाट मार्सेलो २८ अंकसहित अंक तालिकाको चौथो स्थानमा छ। २३ अंकसहित नान्टेस पाँचौ स्थानमा छ।