ट्रान्सफर्मर खरिद घोटाला प्रकरणमा तानिए पूर्वमुख्य सचिव सहित ३ जना

कात्तिक २०,काठमाडौं – विद्युत प्राधिकरणले गुणस्तरहीन ट्रान्सफर्मर खरिद गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनः अनुसन्धान सुरु गरेको छ । आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको समयमा तीन वटा मुद्दा चलाइएकोमा ती मुद्दा विचाराधीन रहेको अवस्थामा प्राधिकरणले आर्बिटेसन (मध्यस्थता) गरेर सरकारलाई थप हानि नोक्सानी पु¥याएको भन्दै पूर्वमुख्यसचिव सहित तीन जनासँग आइतबारबाट बयान सुरु गरी अनुसन्धान थालेको हो । छानबिनका क्रममा अख्तियारले आइतबार पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षत्री, नेपाल ट्रष्टका बहालवाला सचिव अर्जुन कार्की र पूर्वसचिव विश्वप्रकाश पण्डितसँग बयान लिएको हो । अख्तियार उच्च स्रोतका अनुसार आइतबार बिहान उनीहरूलाई बयानका लागि बोलाइएको थियो ।

अख्तियारले मुद्दा चलाएकै अवस्थामा तत्कालीन ऊर्जा सचिव पण्डित, कार्यकारी निर्देशक कार्की र प्राधिकरणका अध्यक्ष क्षेत्री लगायतका पदाधिकारीहरूले ट्रान्सफर्मर खरिद प्रकरणमा गैरकानुनी रूपमा आर्बिटेसन लगायतको निर्णय गरेर राज्यलाई आर्थिक नोक्सानी गरेको भेटिएकाले उनीहरूलाई बयान लिइएको हो । २९ भदौ २०७० मा ट्रान्सफर्मर अनियमितता प्रकरणमा मुद्दा चलाउने भनी अख्तियारले निर्णय गरेकोमा सोही वर्षको असोजमा प्राधिकरणबाट आर्बिटेसनको निर्णय भएको थियो । सो निर्णयका कारण राज्यलाई २ करोड ७५ लाख रुपैयाँ भन्दा बढी नोक्सानी भएको अख्तियार स्रोतले जनाएको छ ।
राजधानीबाट