म्यादीको पोशाकमा मात्र १५ करोड घोटाला,ठेक्काको निर्णय नहुँदै पोशाक तयार

 

कात्तिक १४, काठमाडौं – नेपाल प्रहरी भित्र म्यादी प्रहरीको पोशाकमा मात्रै १५ करोड रुपैयाँ घोटाला हुने भएको छ । स्थानीय तहको निर्वाचनमा ७५ हजार म्यादी प्रहरीको पोशाकमा ३० करोड रुपैयाँ घोटाला गरेको प्रहरीको एक समूहले एक देखावटी ठेकेदार खडा गरी आगामी २०७४ मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा १५ करोड रुपैयाँ घोटाला गर्नका लागि सबै सेटिङ मिलाइसकेको छ । डीआइजी गणेश केसी, ३ नम्बर प्रदेशका एआइजी केशरीराज घिमिरे, ४ नम्बर प्रदेशका कमलसिंह बम र ६ का रणबहादुर चन्दको योजनामा देखावटी ठेकेदार मनोजकुमार भारतीलाई अगाडि सारेर म्यादी प्रहरीको पोशाकमा १५ करोड रुपैयाँ घोटाला गर्ने तानाबाना बुनेको खबर छ । यो समूहले १ नम्बर प्रदेशका एआइजी पशुपति उपाध्याय, २ नम्बरका विजयलाल कायस्थ, ५ नम्बरका मिङ्मार लामा र ७ का बिजय भट्टलाई पनि सहमत गराएर म्यादी प्रहरीको पोशाकको ठेक्का मनोजकुमार भारतीलाई दिने तय भइसकेको छ । ठेक्काको निर्णय नै नभई म्यादी प्रहरीको कपडा सिलाईको काम दु्रतगतिमा भइरहेको प्रहरी स्रोतले बताएको छ ।

९८ हजार म्यादी प्रहरीका लागि पोशाक खरिदको लागि ठेक्काको निर्णय नहुँदै नयाँबजार र भक्तपुरको सृजनानगरको गार्मेन्टमा हजारौं सेट कपडा सिलाई बुनाई भइरहेको छ । सरकारले एक म्यादी प्रहरीका लागि पोशाकदेखि जुत्तासम्मका लागि ४ हजार रुपैया छुट्ट्याएको छ । ठेकेदार स्रोत भन्छ, ९८ हजार प्रहरी भर्ना गर्ने भइसकेपछि समयमै नेपाल प्रहरीले टेण्डर गर्दा एक जना बराबर बढीमा २१ सय ५० रुपैयाँमा तयार गरी दिन सक्छन् । प्रहरीमा लत्ताकपडा आपूर्ति गर्ने एक सप्लायर्सका अनुसार धेरै परिमाण भएकाले २१५० भन्दा कममा पनि टेण्डर पर्न सक्थ्यो । तर प्रहरीले समयमै टेण्डर नगरी नभ्याएको भन्दै अमानतमा पोशाक आपूर्तिको ठेक्का दिन लागेको छ । त्यो ठेक्का पनि प्रहरीले यसलाई दिने भनेर निर्णय नै भएको छैन । तर एक महिना अघि देखि नै ठेकेदार मनोजकुमार भारतीले म्यादी प्रहरीका लागि पोशाक सिलाई गरिरहेका छन् । नयाँ बजार र भक्तपुरको राधेराधे अगाडि सिर्जनानगरमा पहिले तातोपानीको ब्यापार गर्ने झापा घर भएका इन्द्र श्रेष्ठको गार्मेन्टमा एक महिना अघि देखि ३५ हजार जोर सेट सिलाई भइरहेको छ ।
म्यादी प्रहरीको पोशाकका लागि आवश्यक कपडा आपूर्ति गर्ने बिराटनगरका जितन अग्रवाललाई समेत प्रहरीका हाकिमहरूले अरु ठेकेदारलाई कपडा छैन भन्न सिकाएका छन् । प्रहरीसँग सेटिङ भइसकेकाले जितन अग्रवालले अरु ठेकेदारलाई कपडा छैन भन्ने गरेका छन् । प्रहरीका उच्च अधिकारीको लगानी रहेको मनोजकुमार भारतीको फिटवेल गार्मेन्टलाई मात्र उनले कपडा दिनेगरी सेटिङ गरेकाले अरु ठेकेदारलाई छैन भन्दैआएको एक आपूर्तिकर्ताले बताएका छन् ।
नेपाल समाचारपत्रबाट