सल्यानमा ११९२ म्यादी प्रहरी भर्ना

कात्तिक ११, सल्यान – आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सल्यान जिल्लामा ११ सय ९२ जना म्यादी प्रहरी भर्ना गरिएको छ । २२ सय ४५ पुरुष र ४१९ महिला गरी कुल २६ सय ६४ जनाको आवेदन परेकामा परीक्षाबाट ११ सय ९२ जना छनोट भएका हुन् ।

‘शारीरिक तन्दरुस्ती, स्वास्थ्य परीक्षण लगायतका परीक्षाबाट ९५६ पुरुष र २३६ महिला छानिएका छन्,’ सल्यानका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले भने, ‘वैकल्पिकमा २३९ जना परेका छन् ।’
छनोट भएका म्यादी प्रहरीलाई अब १५ दिने तालिम दिएर कार्यक्षेत्रमा खटाइने प्रजिअ घिमिरेले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले समन्वय गरेर मातहतका इलाका प्रहरी कार्यालयहरुबाट म्यादी प्रहरीलाई तालिम दिएर निर्वाचन स्थलमा खटाउने छ ।

प्रतिनिधिसभामा एक सिट र प्रदेश सभामा दुई सिट रहेको सल्यानमा १११ मतदान स्थल र १८० मतदान केन्द्र छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सल्यान जिल्लामा १ लाख ३४ हजार २१३ मतदाता छन् । स्थानीय चुनावमा १ लाख २६ हजार मतदाता थिए ।