चितवनमा बालिका बलात्कारका आरोपित दुई जना पक्राउ

 

कात्तिक १०,चितवन -चितवन प्रहरीले ११ वर्ष र ६ वर्षका बालिकाहरुलाई बलात्कार गरेको आरोपमा दुईजना व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार पक्राउ पर्ने एक जना ५२ वर्ष र एक जना २२ वर्षका छन् । आरोपितहरुलाई थुनामा राखेर अनुशन्धान गर्न चितवन जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) शिव शर्मा आचार्यका अनुसार बलात्कारको घटना भरतपुर र माडीमा भएको थियो । प्रहरीले ११ वर्षीया बालिकालाई ‘जबरजस्ती करणी’ गरेको आरोपमा माडी नगरपालिका वडा नं. ८ का २२ वर्षीय सुरेश भन्ने चिजबहादुर गुरुङलाई समाएको डिएपी शर्माले बताए । घटना कात्तिक २ गते बेलुकी भएको थियो । गुरुङ पाँच गते समातिएका हुन् । त्यस्तै कात्तिक ५ गते बेलुकी ६ वर्षीया बालिकालाई ‘जबरजस्ती करणी’ गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका वडा नं. ५ का ५२ वर्षीय देविप्रसाद अधिकारीलाई समातेको छ। अधिकारी सोही दिन गिरफ्तार भएका हुन् । दुवैजनालाई तत्कालका लागि पाँच दिन हिरासतमा राखेर अनुशन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको डिएसपी शर्माले बताए।
नागरिकबाट