ठमेलपछि अब असनक्षेत्र पनि सवारी साधन मुक्त बन्दै

 

कात्तिक ८, काठमाडौें – काठमाडौंको अत्याधिक व्यस्त स्थानका रुपमा रहेको असनक्षेत्रलाई पनि सवारी साधन निषेधक्षेत्र बनाइने भएको छ । महानगरीय ट्राफिक महाशाखा र त्यसक्षेत्रमा रहेका वडाका प्रतिनिधि तथा व्यवसायीको सहभागितामा असनक्षेत्रलाई पनि सवारीसाधन निषेधितक्षेत्र बनाउन लागिएको हो । त्यसका लागि महाशाखाले महानगरपालिकाका प्रतिनिधि तथा व्यवसायीसँग छलफल समेत सुरु गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालिका र ठमेलक्षेत्रमा रहेका विभिन्न व्यवसायी संघ संस्थाको सक्रियतामा यही कात्तिक ५ गते देखि ठमेलक्षेत्रलाई सवारी साधनमुक्त क्षेत्र बनाउने अभियान सुरु गरिएको थियो । महाशाखाका प्रमुख सर्वेन्द्र खनालले ठमेलक्षेत्रमा चलाइएको अभियान केही हदसम्म सफल भएपछि असनक्षेत्रलाई पनि ठमेलक्षेत्र जस्तो बनाउन लागिएको जानकारी दिए । ‘ठमेलक्षेत्रमा हुँदै आएको अव्यवस्थित सवारीलाई कडाइ गरेपछि स्वदेशी तथा विदेशी पर्यटकलाई आवतजावतमा सजिलो भएको छ’ प्रमुख खनालले भने । ठमेलक्षेत्रको अव्यवस्थित सवारी आगमनलाई कडाइ गरेपछि सुरक्षा, पर्यटक, एम्बुलेन्स, दमक लगायतका अत्यावश्यक सवारी साधनलाई आवतजावतमा सहज भएको छ ।
नेपाल समाचारपत्रबाट