प्रधानमन्त्रीद्वारा तिहारको उपलक्ष्यमा शुभकामना

कात्तिक ३, काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले उज्यालो र रङ्गहरूको महान पर्व तिहारको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एंव दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । उनले हिजो दिएको शुभकामना सन्देशमा उज्यालो र रङ्गहरूको महान पर्व तिहारले नेपालीहरूको धार्मिक, सांस्कृतिक सहिष्णुता, एकता, सहकार्य र सम्मिलनमा अझ प्रगाढता ल्याउँदै जानेमा विश्वास व्यक्त गरे ।

“नेपाल विविध धर्म र संस्कृतिको बहुपहिचानयुक्त विशेषता भएको मुलुक हो, नेपालका विविध साँस्कृतिक पर्वहरूले नेपाली समाजमा भातृत्व र भावनात्मक एकताका लागि महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन्,” प्रधानमन्त्री देउवाले भनेका छन् — “यस पर्वले सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याउन सकोस् ।” साथै उनले राष्ट्रिय एकता र विकासको मार्गमा हिँड्न यो पर्वले सम्पूर्ण नेपालीलाई प्रेरित गर्न सकोस् भन्ने शुभकामना समेत व्यक्त गरेका छन् ।
रासस