तिहार आज देखि शुरु :पहिलो दिन काग तिहार

असोज ३१,काठमाडौँ -हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार आज कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया सम्म मनाइँदैछ । तिहारको पहिलो दिन आज काग तिहार, कात्तिक १ गते बुधबार कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार, २ गते बिहीबार कार्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, ३ गते शुक्रबार कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, कृषक पूजा तथा नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् ११३८ र म्हपूजा अर्थात् आत्मपूजा र कात्तिक ४ गते शनिबार कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइन्छ । यमराज पनि पाँच दिन आफ्ना दैनिक काम स्थगन गरी बहिनी यमुना कहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भनिन्छ ।

वनजंगलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवत्र्तक धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा आज धन्वन्तरि जयन्ती पनि मनाइँदैछ । देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरिको उत्पत्ति भएको चर्चा वैदिक हिन्दू शास्त्रमा गरिएको छ ।
रासस