कम्युनिष्टहरु एक हुँदा कांग्रेस झस्किनु पर्ने कारण छैन – प्रचण्ड

 
असोज २९, काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कम्युनिष्टहरु बीचको एकतालाई लिएर कसैले झस्किुनुपर्ने कारण नभएको बताएका छन् । ‘लौ, कम्युनिष्टको शासन आउने भयो । भनेर बजारमा बिडम्बनापूर्ण चर्चा भयो । जबकि यो गलत कुरा थियो ।’ प्रचण्डले भने, ‘दुःखको कुरा प्रधानमन्त्रीले पनि त्यो पत्याउनु भयो ।’ प्रचण्डले आफूहरु यही संविधान अन्तर्गत रहेर शान्तिपूर्ण तरिकाले अघि बढ्ने बताए । ‘नेपाली जनता, सरकार र अन्तर्राष्ट्रिय जगतले समेत यसलाई अतिरन्जित तरिकाले नबुझ्न अनुरोध गर्दछौं ।’ उनले भने, ‘हामीहरु शान्तिपूर्ण तरिकाले नै अघि बढ्ने हो । कम्युनिष्ट भएको नाताले एउटै केन्द्रको प्रयास गर्नु गलत होइन ।’ प्रचण्डले अगाडि भने, ‘अहिले वाम एकताको कुरा चलेको छ । मैले त्यसको घोषणा हुनु अघि पनि प्रधानमन्त्रीलाई यो कसैप्रति लक्षित छैन भनेर भनेको हो । अहिले बजारमा आएको चर्चा दुखद छ । कम्युनिष्टको शासन आइहाल्यो भनेर प्रचार गर्नु बिडम्बना हो ।
नयाँपत्रिकाबाट