माओवादी मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : कांग्रेस

 

असोज २०,काठमाडौं – एमालेसँग गठबन्धन गरेपछि माओवादी केन्द्रका मन्त्रीहरूले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज कांग्रेस भित्र उठेको छ । बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेताहरूले माओवादी मन्त्रीहरू नैतिकताका आधारमा सरकारमा बस्न नहुने धारणा राखे । ‘प्रधानमन्त्रीले तत्काल माओवादी मन्त्रीहरूलाई बर्खास्त गर्ने विषय जोडतोडले उठेको छैन,’ कांग्रेस नेता डा. रामशरण महतले भने, ‘तर, सत्तारुढ दल भएर पनि विपक्षीसँग मिल्न गएपछि माओवादी मन्त्रीहरूले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने विषयले प्रवेश पाएको छ ।’ प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा निकट नेता डा. प्रकाशशरण महतले भने माओवादी मन्त्रीहरूलाई बर्खास्त गर्ने विषयले प्रवेश नै नपाएको बताए । ‘हामी चुनावी तालमेल कसरी गर्न सकिन्छ र पार्टीभित्र कसरी उम्मेदवारको व्यवस्थापन गर्ने भन्नेमा केन्द्रित छौँ,’ महतले भने, ‘सरकारमा कसलाई राख्ने र हटाउने भन्ने विषयमा प्रवेश गरेका छैनौँ ।’
नयाँ पत्रिकाबाट