राष्ट्रिय गौरवको आयोजनाको डिजाइनमै यस्तो त्रुटि

 

भदौ १८,नेपालगन्ज- राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाका लागि सरकारले बर्सेनि अर्बौँ रुपैयाँ बजेट छुट्टाउँदै आए पनि यसको डिजाइनमा भएको त्रुटीले १० प्रतिशत बजेट पुननिर्माणमा नै सकिने गरेको छ। यो खबर अर्जुन ओलीले आजको नागरिकमा लेखेका छन्।

सम्बद्ध प्राविधिकहरुका अनुसार डिजाइनमा गरिएको त्रुटीका कारण आयोजनाको निर्माणाधीन संरचना प्रत्येक वर्ष भत्कने र त्यसलाई फेरि बनाउनुपर्ने बाध्यता छ। यसले आयोजनालाई दिएको रकमको १० प्रतिशत रकम पुनर्निर्माणमै खर्चनुपरेको छ।

‘पूर्व पश्चिम फैलिएको मूल नहरले उत्तर दक्षिणतर्फ बग्ने पानीको बहाव थेग्न नसकेकै कारण भत्किने समस्या निम्तिएको हो,’आयोजनाका एक इन्जिनियरले भने,‘नहरभन्दा मुनी र माथिबाट बनाइएका साइफन कतै अत्यन्त साँघुरा छन्, कतै कमजोर हिसाबले बनेका छन्, त्यसैको परिणाम देखिएको हो।’

उनका अनुसार मूल संरचना बनेको स्थानको माटो पनि कमसल भएको कारुण समस्या आएको हो।

साउन अन्तिम साता परेको अबिरल बर्षाले सिक्टा नहरको एक दर्जनभन्दा बढी स्थानमा क्षति पुर्‍याएको छ। उत्तरबाट बगेर आउने पाद्दी मूल नहरबाट सहज रूपले बग्न नपाउदा क्षति पुर्‍याएको प्राविधिकको भनाई छ।