१२ लाख नयाँ मतदाता थपिए : तेस्रो चरणको निर्वाचनमा मतदान गर्न नपाउने

 

भदौ ४ , काठमाडौं – निर्वाचन आयोगले एक महिनामा करिब १२ लाख मतदाता थपिएको जनाएको छ। स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि आयोगले १ साउनबाट एक महिनासम्म देशैभर मतदाता नामावली संकलन थालेको थियो। यसअघि एक करोड ४० लाख मतदाता थिए। नयाँ मतदातासहित देशभर मतदाताको संख्या एक करोड ५२ लाख पुगेको छ। आयोगले देशभर करिब आठ सय स्थानबाट एक महिनासम्म एकैसाथ फोटोसहितको मतदाता नामावली संकलन गरेको थियो। ७४४ स्थानीय तहको केन्द्र, हरेक जिल्ला प्रशासन कार्यालय र निर्वाचन आयोगबाट एकैसाथ नामावली संकलन भएको थियो। यो खबर पुष्प ढुंगानाले आजको नयाँ पत्रिकामा लेखेका छन्।
आयोगका अनुसार साउन मसान्तसम्म देशभर साढे १० लाखले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका थिए। त्यसपछि राजनीतिक दलहरूको आग्रहमा थपिएको तीन दिनमा करिब दुई लाख मतदाता थपिएको अयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।
फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउन अन्तिम दिन देशभरका मतदाता नामावली संकलन केन्द्रमा नागरिकहरूको भिड लागेको थियो। आयोगले मतदाता नामावलीमा नाम लेखाउन लाइनमा बसिसकेका सबैको नाम लेखाउन निर्देशन दिएको छ। सबै मतदाता नामावली संकलन केन्द्रका प्रमुखहरूलाई राति अबेरसम्म भए पनि लाइनमा बसिसकेकालाई नामावली नभरी नपठाउन आयोगले निर्देशन दिएको प्रवक्ता शर्माले बताए।
स्थानीय निर्वाचनमा भाग लिन नपाउने ?
निर्वाचन आयोगले थपिएका नयाँ मतदाताले २ असोजमा २ नम्बर प्रदेशमा हुने स्थानीय निर्वाचनमा भाग लिन नपाउने बताएको छ। २ असोजमा हुने तेस्रो चरणको निर्वाचनमा निर्वाचन मिति घोषणा हुनुअघि मतदाता नामावलीमा नाम लेखाएकाले मात्र मतदान अधिकार पाउने प्रवक्ता शर्माले बताए। ‘अहिले थपिएका मतदाता नामावली तेस्रो चरणको निर्वाचनका लागि सार्वजनिक हुँदैन, उनीहरूले मतदान गर्न पाउँदैनन्। आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा उहाँहरू मतदाता बन्नेछन्,’ शर्माले भने।
यसअघि कति थिए ?
निर्वाचन आयोगमा यसअघि एक करोड ४० लाख मतदाता दर्ता भएका थिए। ०७० को संविधानसभा निर्वाचनका लागि आयोगले अभियान नै चलाएर फोटोसहितको मतदाता नामावली संकलन गरेको थियो। गाउँ–गाउँमा घुम्ती टोली सञ्चालन गरेर आयोगले ०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा करिब एक करोड २५ लाख मतदाता नामावली संकलन गरेको थियो। दोस्रो संविधानसभा निर्वाचनपछि आयोगले करिब १४ लाख मतदाता नामावली थप गरेको थियो। यसपटक अयोगले करिब १२ लाख मतदाता थप गरेको जनाएको छ।