बाँकेको राप्ती सोनारीमा घर भत्किँदा तीन बालबालिकासहित ४ जना पुरिए

श्रावण २८, काठमाडौं – -राप्ती नदीमा आएको बाढीका कारण राप्ती सोनारी गाउँपालिका-४ वैजापुरमा एक घर भत्किँदा ४ जना पुरिएका छन् ।

स्थानीय कमीलाल थारुको घर भत्किएपछि उनका श्रीमती, तीन छोराछोरी पुरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी कृष्णबहादुर तामाङले जानकारी दिए । उनका अनुसार घरले थिचिएको अवस्थामा तीन बालबालिकाको शव भेटिएको छ भने उनीहरुका आमाको अवस्था अझै अज्ञात छ । मृतक र वेपत्ताको सनाखत हुन सकेको छैन ।

त्यस्तै सोही गाउँमा एक पुरुषको शव फेला परेको छ । उनको पनि पहिचान हुन बाँकी रहेको एसपी तामाङले जनाए ।

अविरल वर्षाका कारण जिल्लाका सर्सासर्री, धामपुर, ट्रेपरी, राप्ती सोनारी पारी र डुढवा र नरैनापुर गाउँपालिकाका अधिकांश क्षेत्र डुबानमा परेका छन् । त्यस्तै पूर्व-पश्चिम राजमार्गअन्तर्गत अगैगादेखि चार किमि पश्चिममा कल्भर्ट बगाउँदा यातायात ठप्प बनेको छ ।

बाँकैकै खजुरा गाउँपालिकाको पेडारी नालाको बाढी राजमार्ग भएर बगेपछि गाडी चल्न सकेका छैनन् ।