आज गाईजात्रा पर्व, दिवंगत आत्माको सम्झना र ब्यंग्य गरेर मनाइँदै,उपत्यकामा सार्वजनिक बिदा

 

साउन २४ ,काठमाडौं ( आज गाईजात्रा पर्व, नेपालमा दिवंगत आत्माको सम्झना र विकृति विसंगतिमाथि ब्यंग्य गरेर मनाइँदैछ । श्राबण शुक्ल पुर्णिमा अर्थात जनैपूर्णिमाको भोलिपल्ट पर्ने यसपर्व नेवार समुदायमा विशेष रुपमा मनाइन्छ । नेवार समुदायले दिवंगत भएका परिवारका सदस्यको सम्झना र आत्माको शान्तिका लागि टोलटोलमा जात्रा निकालेर रमाइलो गर्ने गर्छन । मानिसलाई गाई वा गाईजस्तै सिँगारेर टोल तथा नगर परिक्रमा गराईन्छ ।
काठमाडौं उपत्यकाको कीर्तिपुर, भक्तपुर, बसन्तपुर र पाटन क्षेत्रमा लगायत देशैभर ठूलो समूहमा गाईजात्रा मनाइन्छ । नेवार समुदाय बसाइँसराइ गरी गएको मुलुकका विभिन्न स्थानमा र यो समुदायको देखासिकी गर्दै अन्य जातजातिले पनि अचेल यो जात्रा मनाउन थालेका छन् । पशुपति क्षेत्रमा यसै दिन लाखेनाच प्रस्तुत गरेर जात्रा मनाइँदैछ । गाईजात्रा पर्ब काठमाडौ उपत्यका लगाएत बनेपा, धलिखेल, बाह्रबिसे, त्रिशुलि बजार भोजपुर लागाएता स्थानमा उत्साहको साथ मनाईन्छ । गाईजात्राका अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने गरेको छ ।
पुत्रशोकले विहृवल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मध्यकालका काठमाडौं उपत्यकाका राजा प्रताप मल्लले यो पर्व सुरुवात गराएको मानिन्छ । उनले जनतालाई मरेका आफन्तको सम्झनामा गाईजात्रा निकाली सहर परिक्रमा गराउन लगाएका थिए । यसले पनि रानीको मन शान्त हुन नसकेपछि उहाँले नाटक तथा व्यङग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिए अनुसार पर्ब सुरु भएको इतिहासमा उल्लेख गरीएको छ ।
गाईजात्रालाई नेपालमा सामाजिक तथा राजनीतिक क्षेत्रका विकृति विसंगतिप्रति व्यंग्य प्रहार गरेर रमाइलो गर्ने अवसरको रुपमा पनि लिइन्छ । गाईजात्राका दिन काठमाडौंमा हाँस्य कलाकारहरुले ब्यवसायिक रुपमा प्रहसन नै देखाउँछन् भने रेडियो तथा टेलिभिजनहरुले गाईजात्रा विशेष कार्यक्रम गर्छन् । मुलुकको अस्थिर राजनीकितबाट जनता आजित भएकाले पछिल्लो ब्यंग्यात्मक कार्यक्रहरुमा धेरैजसो राजनीतिक विषयमा केन्द्रित हुने गरेको छ ।