ज्ञवालीलाई २०३ मतले हराउँदै दाहाल महानगरकी पहिलो महिला मेयर

 

साउन २२, भरतपुर – माओवादी र कांग्रेसको साझा उम्मेदवार रेणु दाहाल निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार देवी ज्ञवालीलाई २०३ मतले पछि पार्दै मुलुकमै पहिलो पटक महानगरको बागडोर सम्हाल्ने भएकी हुन्।

महानगरपालिकाको पहिलो महिला मेयरका रूपमा इतिहास बनाउन सफल रेणु दाहालले ४३ हजार १ सय २७ मत पाइन् भने ज्ञवालीले ४२ हजार ९ सय २४ मत प्राप्त गरे। २९ वडामध्ये पहिलो वडाको गणनाबाटै अग्रता लिएका देवी अन्तिम वडामा भने पराजित हुन पुगे।

अर्कोतिर लगातार पछि परेकी रेणुले १९ नम्बर वडाबाट आफूलाई सुधार्दै अन्तिम वडाका रूपमा गणना भएको २० नम्बर वडाबाटै अग्रता लिँदै विजयी भइन्।

भरतपुर महानगरपालिकाको उपमेयरमा माओवादी समर्थनमा उम्मेदवार बनेकी कांग्रेसकी पार्वती शाह निर्वाचित भइन्। उनले एमालेकी उम्मेदवारलाई पराजित गरिन्।