देउवाको भारत भ्रमण ‘सम्झौता कार्यान्वयनमा केन्द्रित हुनुपर्छ’

 

साउन १७, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमण नयाँ विषयमा सम्झौता या सहमति गर्नुभन्दा पनि विगतमा भएकै सहमतिलाई कार्यान्वयनमा लैजान केन्द्रित हुनुपर्ने सुझाव विज्ञहरूले दिएका छन्। पूर्वअर्थ एवं परराष्ट्रमन्त्री रामशरण महतले प्रधानमन्त्रीको भ्रमणमा विगतका सहमतिलाई कार्यान्वयनमा लैजाने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए। नेपालको भारतसँग व्यापार घाटा विकराल रहेकाले त्यसलाई घटाउन भारतले सहयोग गर्नुपर्ने उनको सुझाव छ। ‘५-६ खर्ब रुपैयाँ व्यापार घाटा हुनु सामान्य कुरा होइन। यो घाटा अन्त्य गर्न भारतले सहयोग गर्नुपर्छ। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

प्रधानमन्त्रीजीको भ्रमणमा विगतमा सम्झौता भए पनि कार्यान्वयनमा आउन ढिलाइ भइरहेका महत्वपूर्ण परियोजनालाई अघि बढाउन ठोस छलफल हुनुपर्छ’, उनले भने, ‘अरुण तेस्रो, पञ्चेश्वर र माथिल्लो कर्णाली परियोजना कार्यान्वयनबारे संवाद गर्न आवश्यक छ।’ पञ्चेश्वर परियोजना बन्न नसक्नुमा भारत र नेपाल दुवैतिर समस्या रहेकाले गम्भीर भएर सोच्नुपर्ने उनले बताए। नेपाली भूभागको डुबान समस्या समाधानका लागि पनि भारतसँग कुराकानी हुनुपर्ने उनको सुझाव छ।

चीन, भुटान र भारतबीच डोक्लम क्षेत्रबारे विवाद उब्जिएका बेला नेपालले कसैको पक्ष या विपक्षमा बस्न नहुने उनले बताए। ‘यस्ता समस्या शान्तिपूर्ण रूपमा हल हुन् भन्ने चाहना व्यक्त गर्नु सामान्य कुरा हो। यो समस्या उनीहरू आफैँले हल गर्ने भएकाले यसमा बोलिरहन जरुरी हुँदैन’, उनले भने। प्रधानमन्त्री राजकीय हो या सद्भावना कुन खालको भ्रमणमा जाँदै हुनुहुन्छ भन्ने बाहिर आइनसकेको उनले बताए।

पूर्वअर्थ तथा परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनी भारत जानुअघि प्रधानमन्त्रीले संसद् र जनतालाई भ्रमणको उद्देश्य प्रस्ट पार्नुपर्ने बताउँछन्। ‘भारत-नेपालबीच खासै नयाँ मुद्दा यतिबेला छैनन्। पहिलेका विषयलाई कार्यान्वयन गर्न ठोस छलफल हुन सके राम्रो हुन्छ। प्रधानमन्त्रीले भारतसँग संवाद गर्ने भनेको उही द्विपक्षीय व्यापार र जलस्रोत विकासका मुद्दा नै हुन्।’ नेपाल-भारतबीचको सम्बन्ध अझ सुदृढ गर्न प्रधानमन्त्रीले दिल्लीमा गर्ने उच्चस्तरीय भेटवार्ता महत्वपूर्ण हुने उनको भनाइ छ।

अर्थविद् मदनकुमार दाहालले दुई दशक बित्दा पनि पञ्चेश्वर परियोजना कार्यान्वयनमा नआएको जानकारी दिँदै त्यसको कार्यान्वयनका लागि प्रधानमन्त्रीको भ्रमणमा ठोस छलफल हुनुपर्ने बताए। नेपालमा नयाँ प्रधानमन्त्री आउनासाथ भारत जाने पुरानै परिपाटी भएको उनको भनाइ छ। ‘प्रधानमन्त्री स्टेट भिजिटमा जाँदै हुनुहुन्छ या अफिसियल भ्रमणमा भन्ने कुरा प्रस्ट बाहिर आइसकेको छैन। जे भए पनि यतिबेला प्रधानमन्त्रीले लामो सपिङ लिस्ट लिएर जानु आवश्यक छैन किनकि हामीले विगतमा सबैजस्तो द्विपक्षीय विषयमा भारतसँग सहमति र सम्झौता गरिसकेकै छौँ’, उनले भने।

नेपाल र भारतले जलस्रोत विकासमा राम्रो सहकार्य गर्नुपर्ने उनको सुझाव छ। ‘नेपालको आर्थिक विकासको लाइफलाइन भनेकै जलविद्युत् विकास हो। महाकाली सन्धि भएको २० वर्षसम्म पनि पञ्चेश्वर परियोजना बन्न नसक्नुको कारण के हो ? यतिका वर्षसम्म परियोजना अघि बढाउन भारतले किन चासो दिएन ? ‘ उनले भने, ‘भारतीय प्रधानमन्त्री मोदी तीन वर्षअघि यहाँ आएपछि मात्रै एकाएक पञ्चेश्वरको विषयले प्राथमिकता पायो तैपनि अझै परियोजना अघि बढ्न सकेको छैन।